संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ ।
संसद् सचिवालयका अनुसार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
यता, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछिन् ।
त्यसपछि मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद्का दुवै सदनको बैठकसँगै आजै तीन वटा संसदीय समितिको बैठकसमेत बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्ने तय भएको छ ।


