काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथलगायतका मुख्य सडकमा विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो।
प्रहरीका अनुसार पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको छ। केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको धादिङको कृष्णभीरस्थित अस्थायी सडकमा समेत पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बीपी राजमार्गमा विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। काभ्रेको रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ को गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।
राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै काठमाडौं आउँदै गरेका सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको प्रहरीले जनाएको छ।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि काभ्रे खण्डमा बिहीबारदेखि नै रातिको समयमा बीपी राजमार्गमा सवारी आवागमन रोकिएको थियो। स्थानीय प्रशासनले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
कान्तिलोकपथमा पनि पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार कान्तिलोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेको छ।
लगातारको वर्षासँगै पहिरो खसेपछि हेटौँडाबाट काठमाडौं आउने उक्त मार्गको यातायात सेवा समेत प्रभावित भएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रवेश गर्ने प्रमुख सडकहरू नै अवरुद्ध भएपछि राजधानी भित्रिने तथा बाहिरिने यात्रु र मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।


