शिक्षा तथा खेलकुद मन्त्रालयले ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड– २०८३’ जारी गरेको छ । मापदण्ड कार्यान्वयन गर्न शिक्षा विभागले स्थानीय तहहरूलाई बिहीबार सर्कुलर गरेको हो ।
काठमाडौं — सरकारले जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड– २०८३’ जारी गरेको छ । मापदण्ड कार्यान्वयन गर्न शिक्षा विभागले स्थानीय तहहरूलाई बिहीबार सर्कुलर गरेको हो । मन्त्रालयले २ असोजमा मापदण्ड जारी गरेको थियो ।
मापदण्डअनुसार सरकारबाट घोषित जेन-जी सहिदका छोराछोरी, सहोदर दाजुभाई, दिदीबहिनी तथा सम्बन्धित निकायबाट गम्भीर वा अति गम्भीर घाइते परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूलाई छात्रवृत्ति लाभग्राहीका रूपमा वर्गीकरण गरिएको छ । यी लाभग्राहीले स्वीकृत सामुदायिक तथा संस्थागत विद्यालय र मान्यताप्राप्त विश्वविद्यालयहरूमा अध्ययनका लागि विशेष सुविधा पाउने मापदण्ड तोकिएको छ । आधारभूत र माध्यमिक तहमा अध्ययनरत लाभग्राहीका लागि प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षाका साथै विद्यालय पोशाक, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीका लागि वार्षिक प्रोत्साहन रकमको व्यवस्था गरिएको छ । ५ कक्षासम्म अध्ययनरत विद्यार्थीले वार्षिक १२ हजार रूपैयाँ र ६ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीले वार्षिक १६ हजार रूपैयाँ स्थानीय तहमार्फत प्राप्त गर्नेछन् ।


