अब एयरलाइन्स पार्टनरका रूपमा बुद्ध एयर रहनेछ । नेपाली क्रिकेटप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता र समर्थनलाई कायम राख्दै बुद्ध एयरले लुम्बिनी लायन्ससँग तेस्रो एनपीएल सिजनमा पनि साझेदारी गरेको हो ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलक्षित गर्दै लुम्बिनी लायन्स र बुद्ध एयरबीच प्रायोजन सम्झौता भएको छ । अब एयरलाइन्स पार्टनरका रूपमा बुद्ध एयर रहनेछ । नेपाली क्रिकेटप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता र समर्थनलाई कायम राख्दै बुद्ध एयरले लुम्बिनी लायन्ससँग तेस्रो एनपीएल सिजनमा पनि साझेदारी गरेको हो । लुम्बिनीको यात्रामा बुद्ध एयर विगत सिजनदेखि नै जोडिँदै आएको छ । बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले एनपीएलसँगको निरन्तर सहकार्यप्रति खुशी व्यक्त गरे । ‘एनपीएलप्रतिको क्रेज, विशेष गरी युवापुस्तामाझ तीव्र रूपमा बढिरहेको छ । तेस्रो एनपीएल सिजनका लागि लुम्बिनी लायन्ससँग पुनः एयरलाइन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी खुसी छौं ।’ एनपीएलले नेपाली क्रिकेटका लागि उत्कृष्ट अवसर सिर्जना गर्नुका साथै यही गतिलाई निरन्तरता दिइनुपर्ने एयरलाइन्सको विश्वास छ । बुद्ध एयरसँगको सहकार्यले लुम्बिनी लायन्सको यात्रा थप सुदृढ बनाउने विश्वास क्लबले लिएको छ ।


