नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट समेत अवकाश पाउन लागेका उनी अक्टोबरमा नयाँदिल्ली फर्किनेछन् ।
काठमाडौँ — कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगी प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे । हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि पनि प्रधानमन्त्रीले विशेष धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयद्वार जारी नोटमा उल्लेख छ ।
भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद दिएका थिए ।राजदूत श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट समेत अवकाश पाउन लागेका उनी अक्टोबरमा नयाँदिल्ली फर्किनेछन् । उनको स्थानमा बुधबारदेखि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन राकेश पाण्डेले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
विद्युत् इन्जिनियरिङमा स्नातक श्रीवास्तव सन् १९९३ देखि भारतीय विदेश सेवामा कार्यरत थिए । सन् २०२२ को जुनमा काठमाडौं आएपछि उनी विवादबाट टाढै रहे भने नेपाल र भारतबीच भएका उच्चस्तरीय भ्रमणलाई सहज बनाउन पनि भूमिका खेले ।
सौजन्य- www.ekantipur.com


