काठमाडौं । प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले एक्लैले मुलुकका सबै समस्या समाधान गर्न नसक्ने बताएका छन्। उनले प्रधानमन्त्रीसँग ‘जादुको छडी’ नभएको भन्दै सरकारको पछिल्लो ६ महिनाको कामले पनि जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्रीले मुलुकका सबै समस्या एक्लैले समाधान गर्न सक्ने भ्रम सिर्जना गर्न खोजिएको बताए । ‘प्रधानमन्त्रीज्यू, तपाईंसँग जादुको छडी छैन। एक्लैले केही गर्न सक्नुहुन्न,’ उनले भने, ‘छ महिनाको सरकारको कामले पनि त्यो देखाइसकेको छ ।’
उनले संख्याका आधारमा सरकार टिकाउन र बजेट पारित गर्न सकिए पनि त्यसबाट जनताको मन जित्न नसकिने बताए। सरकारको सुशासन कागजमा लेखेर नभई सरकारी कार्यालयमा पुग्ने नागरिकले अनुभूति गर्ने विषय भएको उनको भनाइ थियो। आङ्देम्बे ले भदौ २३ र २४ गतेका घटनाप्रति सरकारको भूमिकामाथि पनि प्रश्न उठाए। ‘भदौ २३ को घटना देख्ने सरकारले भदौ २४ को घटनाका विषयमा किन केही बोल्दैन?’ प्रश्न गर्दै उनले मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा समेत सरकारसँग जवाफ मागे।
कानुन निर्माणमा विपक्षी दलले कुनै अवरोध नगरेको दाबी गर्दै उनले सरकारले पर्याप्त विधेयक सदनमा ल्याउन नसकेको बताए। उनले सरकारलाई आगामी दिनमा गर्नुपर्ने कामबारे नौबुँदे प्रश्न, सुझाव र अवधारणा पनि प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा र फर्किएपछि पनि संसद्लाई जानकारी नगराएको भन्दै आङदावेले असन्तुष्टि जनाए । हिजो आफूहरूलाई ‘बोल्न देऊ सरकार’ भन्ने प्रधानमन्त्रीले अहिले सरकारका सबै संयन्त्र प्रयोग गरेर बोल्नेहरूको मुख थुन्न खोजेको आरोपसमेत उनले लगाए।
संसद् सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा संस्था भएको उल्लेख गर्दै आङ्देम्बेले संसद् सरकारको अनुकूलतामा चल्ने संस्था नभएको स्पष्ट पारे। ‘प्रधानमन्त्री बालेन्द्र शाह सबै परम्परा तोड्छु भनेर अघि बढ्नुभएको छ,’ उनले भने, ‘तर सबै परम्परा तोड्ने प्रयास गर्दा उहाँ आफैं गुम्र्याङमा पर्न खोज्दै हुनुहुन्छ ।’


