काठमाडौं । वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५.१६ किलोमिटर सडक कालोपत्र गरिएको सरकारले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांशमा यस्तो विवरण उल्लेख गरिएको हो। उपलब्धि सारांशको बुँदा नम्बर ६ मा पूर्वाधार, ऊर्जा तथा कृषि विकाससम्बन्धी उपलब्धि समेटिएको छ। यातायात तथा भवन पूर्वाधारअन्तर्गत ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५.१६ किलोमिटर ग्रामीण सडक कालोपत्र गरिएको उल्लेख छ। यस अवधिमा १५ वटा सडक पुल र ४९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको सरकारले जनाएको छ। त्यस्तै, नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। काठमाडौं–तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति ५०.०२ प्रतिशत पुगेको तथा महादेवटार सुरुङमार्गको ब्रेकथ्रु सम्पन्न भएको उपलब्धि विवरणमा उल्लेख छ। आन्दोलनका क्रममा क्षति पुगेका १३३ वटा सरकारी भवनको मर्मत तथा प्रबलीकरण सम्पन्न गरिएको पनि सरकारले जनाएको छ।
६ महिनामा १६१ मेगावाट विद्युत थप
ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ कुल विद्युत् जडित क्षमता ४ हजार २५८ मेगावाट पुगेको सरकारले जनाएको छ। पछिल्लो ६ महिनामा मात्रै १६१ मेगावाट विद्युत् प्रणालीमा थपिएको उल्लेख छ। चालु आर्थिक वर्षमा १ हजार १९६ गिगावाट घण्टा विद्युत् निर्यात गरी करिब १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिएको विवरणमा उल्लेख छ। त्यस्तै, ६ महिनाको अवधिमा थप २ हजार ९४८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
६५ हजारभन्दा बढी उखु किसानलाई २ अर्बभन्दा बढी अनुदान
कृषि तथा वन क्षेत्रतर्फ ६५ हजार ६ सय उखु उत्पादक किसानलाई २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी प्रोत्साहन अनुदान वितरण गरिएको सरकारले जनाएको छ।बाली तथा पशुधन बीमाको प्रिमियममा १ अर्ब २४ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने २ लाख ५८ हजार मेट्रिक टन रासायनिक मल बिक्री तथा वितरण गरिएको विवरणमा उल्लेख छ। यस अवधिमा २६ लाख ७७ हजारभन्दा बढी किसान कृषि तथा किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्।
कार्बन व्यापारमार्फत विश्व बैंकबाट ९.४ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३४ करोड रुपैयाँ वन विकास कोषमा प्राप्त भएको सरकारले जनाएको छ।


