सुर्खेत — दसौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा हालसम्म ४ हजार ८ सय २६ बेडको आवास क्षमता पहिचान गरिएको छ। प्रतियोगितामा करिब ६ हजार ५ सय खेलाडी सहभागी हुनेछन् । उद्घाटनका दिन खेलाडी, प्रशिक्षक, पदाधिकारी, कर्मचारी र दर्शकसहित करिब १० हजार जनाको उपस्थिति हुने आयोजकको अनुमान छ ।वीरेन्द्रनगरका होटलमा ४ हजार ३ सय ८३ बेड छन् । गुराँसेमा ७६, छिन्चुमा २ सय ३०, एनप्याब्सनका होस्टेलमा ८५ र प्याब्सनका होस्टेलमा ५२ बेडको क्षमता पहिचान गरिएको छ ।उद्घाटनका दिन ठूलो संख्यामा सहभागी हुने भए पनि खेल सञ्चालनका क्रममा खेलाडी तथा पदाधिकारीलाई खेल तालिकाअनुसार रोटेसनमा व्यवस्थापन गर्ने तयारी छ । खेल सञ्चालनको अवधि र खेलस्थलअनुसार आवास व्यवस्थापन मिलाइने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा बसोबास व्यवस्थापन समितिका संयोजक प्रमोद हमालले सुर्खेत उपत्यकामा ५ देखि ६ हजार जनासम्मको आवास व्यवस्थापन गर्न सकिने बताए । विभागीय र गैरविभागीय टोलीलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।‘हामी पटकपटक होटल व्यवस्थापन टोलीसँग बसेर छलफल गरिरहेका छौं । त्यसैले आवास व्यवस्थापनमा त्यस्तो समस्या नहोला,’ हमालले भने, ‘सुर्खेतमा साना ठूला गरी एक सय ५० भन्दा बढी होटल छन् ।’ वीरेन्द्रनगरका होटलका ६५ वटा हलमा थप बेड राख्ने विकल्प पनि अघि सारिएको छ । सुर्खेतबाहेक अन्य जिल्लामा पनि खेल सञ्चालन गर्ने तयारी भएकाले सहभागीलाई खेलस्थलअनुसार व्यवस्थापन गर्ने योजना छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले दसौं राष्ट्रिय खेलकुदमा ३२ खेल सञ्चालन गर्ने तयारी भइरहेको बताए । तीमध्ये सुर्खेतमा १७ देखि १८ वटा खेल सञ्चालन गर्ने तयारी छ ।
‘खेल तालिका र खेलस्थलअनुसार सहभागीलाई व्यवस्थापन गरिने भएकाले आवासमा धेरै चाप नपर्ने अपेक्षा गरेका छौं,’ चन्दले भने, ‘खेलाडी तथा पदाधिकारीलाई लामो समयसम्म एउटै स्थानमा राख्नुपर्ने अवस्था नहुने भएकाले होटल व्यवस्थापनमा पनि समस्या नहोला।’ दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने तयारी छ ।
NewsCredit :ekantipur.


