चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ ।
करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण हुने परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले बताए ।
अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्चको पाइपलाइन बिछ्याइनेछ । पूर्वपश्चिम राजमार्गको समानान्तर रहने पाइपलाइन हेटौँडा बजारलाई बाइपास गरेर निर्माण गरिनेछ ।
पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन आपूर्ति गर्न सकिनेछ । लोथरमा निर्माण हुने डिपोमा करिब ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने निगमले जनाएको छ ।
परियोजनास्थलमा ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सनले पाएको छ । करिब ७९ करोड रुपैयाँ लागतमा भइरहेको यो काम आठ–नौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पाइपलाइनसहित भण्डारण गृह निर्माणमा करिब १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने सम्झौता भए पनि अहिले निगमले तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुनुका साथै हवाई इन्धनसमेत पाइपलाइनबाटै ल्याउन सकिनेछ । यसबाट ढुवानी खर्च घट्नुका साथै चोरी, मिसावट र वातावरणीय जोखिमसमेत कम हुने निगमको विश्वास छ ।


