दसैं बजारमा कपडाको भाउ छोइसक्नु छैन : उपभोक्ताको गुनासो– ‘पोहोरभन्दा निकै महँगो’; व्यापारी भन्छन्– ‘ढुवानी भाडा दोब्बर’

दसैंको मुखमा कपडा महँगियो, व्यापारी भन्छन्– ‘ढुवानी भाडा दोब्बर’

काठमाडौं । दसैं नजिकिँदै गर्दा काठमाडौंका प्रमुख बजारमा किनमेलको चहलपहल बढेको छ । तर, कपडा, जुत्ताचप्पललगायत दसैंका सामग्रीको मूल्य बढेपछि उपभोक्ता मर्कामा परेका छन् । व्यापारीहरूले भने उत्तरी नाकामा आएको बाढीपहिरोपछि ढुवानी भाडा बढ्दा सामानको लागत नै महँगिएको बताएका छन् ।

अबको चार दिनपछि घटस्थापना हुँदैछ । घटस्थापनासँगै दसैं सुरु हुने भएकाले नयाँ बानेश्वर, न्युरोड, असन, भृकुटीमण्डपलगायत बजारमा दसैंका लागि आवश्यक सामान किन्ने ग्राहकको चहलपहल बढेको छ । तर, विगतका वर्षको तुलनामा यसपटक व्यापार भने सुस्त देखिएको व्यापारीहरू बताउँछन् ।

शान्तिनगरकी सीता घिमिरे आइतबार साँझ नयाँ बानेश्वरको खुला बजारमा १० वर्षीय छोरा र ७ वर्षीया छोरीका लागि दसैंको कपडा किन्दै थिइन् । केही पसल चहारेपछि पनि आफूले खोजेजस्तो सामान नपाएको र मूल्यसमेत बढेको उनले बताइन् ।

‘पोहोर सालको तुलनामा कपडाको भाउ पनि महँगिएको रहेछ,’ उनले भनिन्, ‘अघिल्लो दसैंमा छोराका लागि पाइन्ट र टिसर्ट १५ सयमै किनेकी थिएँ, अहिले त एक सेटलाई २२–२५ सय भन्छन् । छोरीको कुर्ता–सुरुवालको भाउ पनि उस्तै छोइसक्नु छैन । महँगीले गर्दा यसपालि केटाकेटीलाई लुगा किनिदिनै गाह्रो भयो ।’

सोही बजारमा कुर्ता–सुरुवाल, पाइन्ट र जुत्ताचप्पल किन्न पुगेकी सुमी थापाले पनि अघिल्लो वर्षको तुलनामा यसपालि कपडाको मूल्य बढेको बताइन् ।

‘अघिल्लो वर्ष पनि मैले यहीँबाट बहिनी र आफूलाई कपडा किनेर लगेकी थिएँ,’ उनले भनिन्, ‘त्यसबेला १ हजारमा किनेको पाइन्टलाई अहिले धेरै बार्गेनिङ गरेर पनि १४ सय पर्‍यो । अझै आमालाई कुर्ता सेट किन्नुपर्ने छ । त्यसमा पनि मूल्य बढेको भन्दैछन् । अहिले कम खर्चमा लुगा किन्न सकिएला जस्तो छैन ।’

उपभोक्ताको गुनासो बढिरहेका बेला व्यापारीहरूले भने आफूहरूले मनलाग्दी मूल्य बढाएको नभई होलसेलमै सामान महँगिएर आएको दाबी गरेका छन् ।

नयाँ बानेश्वरमा तीन वर्षदेखि खुला बजारमा लत्ताकपडा व्यापार गर्दै आएका गौतम साहले पसलमा सामान हेर्न आउने ग्राहकको संख्या रहे पनि बिक्री निकै कम भएको बताए ।

‘पोहोर सालको तुलनामा यसपालि ग्राहकको चाप नै छैन,’ उनले भने, ‘मान्छे आउँछन्, भाउ सोध्छन् अनि महँगो भयो भन्दै फर्किन्छन् । यसपालि चाडबाड मनाउन धेरैलाई जाँगर चलेजस्तो पनि देखिएन । देशमा यति ठूलो विपत्ति पनि आइलाग्यो ।’

होलसेलमै सामानको मूल्य बढेर आएकाले खुद्रामा पनि मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ ।

‘सस्तो सामानमा २५ देखि ५० रुपैयाँ र अलि महँगो सामानमा १०० देखि २०० रुपैयाँसम्म त होलसेलमै बढेर आएको छ,’ साहले भने, ‘हामीले पनि थोरै नाफा त राख्नै पर्‍यो नि !’

व्यापारीका अनुसार कुर्ता–सुरुवाललगायत केही कपडा भारतबाट आउने भए पनि चिनियाँ सामानको आपूर्ति प्रभावित हुँदा समग्र बजारमा त्यसको असर परेको छ । उत्तरी नाकाको सडक अवरुद्ध हुँदा ढुवानी लागत बढेको उनीहरूको भनाइ छ ।

कुर्ता सेट र टप्सलगायत कपडा बिक्री गर्दै आएका अर्का व्यापारी विनोद ओलीले बजारमा चिनियाँ सामानको अभाव रहेको र आएका सामान पनि महँगो भएको बताए ।

‘पहिले १५ सयदेखि १७ सयसम्ममा आउने कुर्ता–सुरुवाल सेट अहिले हामीलाई नै २२ सयदेखि २५ सय रुपैयाँसम्म पर्न थालेको छ,’ उनले भने, ‘होलसेलवालाहरू बाटो बिग्रिएर ढुवानी भाडा बढेको बताउँछन् । हामीले दुई–तीन सय फाइदा राखेर बेच्दा ग्राहक महँगो भयो भनेर गाली गर्छन्, फर्केर हिँड्छन् । व्यापार त चौपट नै छ ।’

कपडासँगै जुत्ताचप्पलको मूल्यमा पनि वृद्धि भएको उपभोक्ताको गुनासो छ ।

कोटेश्वरका रमेश थापा दसैंका लागि जुत्ता किन्न नयाँ बानेश्वरको बजार पुगेका थिए । आफूले मन पराएको जुत्ताको मूल्य अघिल्लो वर्षको तुलनामा बढेको उनले बताए ।

‘दसैंका लागि भनेर एउटा साम्बा जुत्ता हेरेको, पोहोर १२ सयमा पाइने जुत्तालाई अहिले १५ सयभन्दा कममा दिँदै दिन्न भन्छन्,’ उनले भने, ‘अरू सामान पनि किन्नु छ । बजेटले भ्याउँदैन जस्तो देखियो ।’

व्यापारी मुकेश विश्वकर्माले भने जुत्ताको मूल्य नै बढेर आएकाले कम मूल्यमा बिक्री गर्न नसकेको बताए ।

‘सामान बाटोमै रोकिएको छ । उपभोक्ताले खोजेअनुसार दिन सकिएको छैन,’ उनले भने, ‘जुन सामान अलिकति बजारमा झरेको छ, त्यसको भाउ ढुवानीले गर्दा महँगो पर्न गयो ।’

बानेश्वरकै खुला बजारमा साढे दुई वर्षदेखि व्यापार गर्दै आएकी अर्चनाको समस्या पनि उस्तै छ । दसैंका लागि अर्डर गरेको नयाँ सामान बाटोमै रोकिएपछि पुरानै स्टक बेच्नुपरेको उनले बताइन् ।

‘नयाँ डिजाइनका सामान आउनै पाएका छैनन्,’ उनले भनिन्, ‘पोहोर २४ सयमा पाइने ह्याभी सेटलाई अहिले २६ सय पर्न थालेको छ । ग्राहक आएर पहिला लुगाको मोल गर्छन्, महँगो लागेपछि अरू दुई–चार ठाउँमा बुझेर आउँछु भन्दै हिँड्छन् ।’

व्यापारीका अनुसार अहिले बजारमा देखिएको सामानको अभाव र मूल्यवृद्धिको मुख्य कारण उत्तरी सीमातर्फको सडक अवरोध हो । गत भदौमा भोटेकोशीमा आएको बाढीले रसुवागढी र तातोपानी नाकातर्फका सडकमा क्षति पुर्‍याएपछि दसैंका लागि अर्डर गरिएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् ।

कोरला नाकातर्फबाट केही सामान आयात भए पनि पछिल्लो अविरल वर्षाका कारण सडक तथा पुलमा क्षति पुगेपछि त्यहाँबाट हुने आपूर्ति पनि प्रभावित भएको व्यापारीहरू बताउँछन् । सडक तथा पुल मर्मतको काम भइरहेको छ ।

सरकारले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिरहेको भए पनि पूर्ण रूपमा आपूर्ति सहज हुन अझै समय लाग्ने देखिएको व्यापारीहरूको भनाइ छ ।

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडका व्यापारीहरू पनि ढुवानी भाडा बढेका कारण सामानको मूल्य बढ्न पुगेको बताउँछन् ।

न्युरोडका व्यापारी रत्न श्रेष्ठले दसैं नजिकिँदै गर्दा ग्राहकको चहलपहल बढे पनि बिक्री अपेक्षाअनुसार नभएको बताए ।

‘होलसेलमा पनि धेरै सामान आएको छैन,’ उनले भने, ‘आएको सामान पनि खुद्रा व्यापारीले महँगोमा बेच्न सकिँदैन भनेर खासै लैजान रुचाएका छैनन् । केहीले लगिराखेका पनि छन् ।’

दसैंका लागि विभिन्न अफर र छुट राख्दा पनि ग्राहकको आकर्षण बढाउन नसकिएको उनको भनाइ छ ।

न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले बजारमा देखिएको मूल्यवृद्धिको मुख्य कारण उत्तरी नाकाको अवरोध र ढुवानी खर्च बढ्नु रहेको बताए ।

‘अहिले बजारमा थप नयाँ सामान कसैको पनि आएको छैन, बाटो सबै बन्द छ,’ उनले भने, ‘मैले त सधैं भन्दै आएको छु, यो उत्तरी नाका भनेको व्यापारीका लागि एम्बुस भयो । जहिले पनि माल ल्याउने, त्यहाँ फसाउने अवस्था हुन्छ ।’

चाडपर्वका लागि ल्याइएका सामान बाटोमै रोकिँदा व्यापारीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको दाहालको दाबी छ ।

‘चीनबाट सामान ल्याएका झन्डै २ सय वटा ट्रक–कन्टेनर बाढीमै बगे । यत्रो पैसा डुबेको छ, कसैले वास्ता गर्दैन,’ उनले भने, ‘चीनबाट आउने सामानको बीमा नहुने हुँदा बाढीले बगाएको र बाटोमा कुहिएको सम्पूर्ण घाटा व्यापारी आफैंले सहनुपरेको छ ।’

बजारमा सामान महँगिनुमा व्यापारीभन्दा ढुवानी व्यवसायीले बढाएको भाडा मुख्य कारण रहेको उनको दाबी छ ।

‘कन्टेनरले नै ढुवानी भाडा डबल गरिदिएको छ । सामानमा ५ देखि ७ प्रतिशत मूल्य त ढुवानीकै कारण बढेको छ,’ उनले भने, ‘भाडा बढेपछि व्यापारीले खल्तीबाट हालेर त दिँदैन, मूल्य

मूल्य बढाउनै पर्छ। तर, बजारमा अहिले एकाधिकार छैन, प्रतिस्पर्धी बजार छ । जसले सस्तो दियो, त्यसैको बिक्ने हो । त्यसैले व्यापारीले धेरै नाफा खाएका छैनन् ।’

हरेक वर्ष चाडपर्वको समयमा उत्तरी नाकामा बाढीपहिरो, सडक अवरोधलगायत समस्या दोहोरिने गरेको भन्दै व्यवसायीहरूले दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

दसैंमा नयाँ कपडा, जुत्ताचप्पललगायत सामान किन्ने उपभोक्ताको संख्या बढे पनि यसपटक प्राकृतिक विपत्ति, आपूर्ति अवरोध र बढ्दो ढुवानी लागतको असर बजारमा देखिएको छ । चाडपर्वको मुख्य किनमेलको समय नजिकिँदा बजारमा चहलपहल बढे पनि व्यापारीहरू अपेक्षित बिक्री नभएको र उपभोक्ता बढ्दो मूल्यका कारण खर्च व्यवस्थापन गर्न कठिन भएको गुनासो गरिरहेका छन् ।

विगतका दसैंमा खाना खाने फुर्सद नपाउने व्यापारीहरू यसपटक भने पसलमा बसेर ग्राहक कुरिरहेको बताउँछन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई