म्याग्दी (बेनी), असोज २० गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित प्रसिद्ध प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा बाढीपहिरोले थुपारेको ढुङ्गा, माटो, गेगर, बालुवा र लेदो पन्छाएर सरसफाइ गर्ने काम तीव्र पारिएको छ । कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विभिन्न सङ्घसंस्थामा आबद्ध युवाहरू श्रमदानमा जुटेर सरसफाइ तथा क्षति व्यवस्थापनको काम गरिरहेका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कुण्डभन्दा माथि रहेको बेनी–दरबाङ सडकको डिल भत्किएर खसेको पहिरो तथा म्याग्दीखोलामा आएको बाढीले कुण्ड परिसरमा क्षति पुर्याएपछि स्थानीयवासी आठ दिनदेखि श्रमदानमा जुटेर सरसफाइ गरिरहेका छन् ।
बाढीपहिरोले थुपारेको ढुङ्गा, माटो, गेगर, बालुवा र लेदो पन्छाएर कुण्ड परिसर सफा गर्ने काम भइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तातोपानी कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल तथा साविक सिङ्गा गाविसअन्तर्गतका विभिन्न वडाबाट श्रमदानका लागि आएका स्थानीयवासीले दैनिक रूपमा कुण्ड परिसरमा सरसफाइ गरिरहेका छन् । सरसफाइको काम सकेर दसैँअघि कुण्ड सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
तातोपानी कुण्डभन्दा माथि रहेको बेनी–दरबाङ सडकबाट खसेको पहिरो कुण्ड परिसरमा पुगेको थियो भने म्याग्दीखोलामा आएको बाढीले मुख्य कुण्डबाहिर रहेका कुण्ड तथा अन्य संरचनामा क्षति पुर्याएको थियो ।
पहिरो र बाढीका कारण कुण्ड परिसरमा ढुङ्गा, माटो, गेगर, बालुवा र लेदो पसेर कपडा फेर्ने ठाउँ, नुहाउने धारा, बाहिरका दुईवटा कुण्ड, नुहाउने पानीका ड्रमलगायतका संरचनामा क्षति पुगेको समितिका सचिव केसीले जानकारी दिनुभयो ।
बाढीले बाहिर रहेका दुईवटा कुण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । माथिबाट आएको पहिरोले कुण्ड परिसरमा राखिएका १६ वटा ड्रमसहित अन्य सामग्री तथा संरचनामा समेत क्षति पुर्याएको छ । मङ्गलबारसम्म आठ सय जनाले कुण्डको सरसफाइमा श्रमदान गरिसकेको उहाँले जानकारी दिनुभयो ।
प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, गानोगोला, घाउखटिरा, छालाको एलर्जी, रुघाखोकी, बाथरोग तथा हड्डी र जोर्नीको दुखाइसँगै सड्किएको, मर्किएको र बज्रिएकोजस्ता समस्यामा राहत मिल्ने जनविश्वास छ । चिसोका कारण उत्पन्न विभिन्न स्वास्थ्य समस्यामा लाभ पुग्ने विश्वासका कारण यहाँ नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत ठुलो सङ्ख्यामा बिरामी तथा पर्यटक आउने गरेका छन् ।
सौजन्य: गोरखापत्र अनलाइन


