काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस रेडर १२५ सिंगल सिट मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ मोडलसँगै नेपालमा टीभीएस रेडरको पोर्टफोलियो थप विस्तार भएको छ ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल, उपाध्यक्ष दीपक रौनियार तथा हास्य कलाकार कर्मा लामा र निश्छल अर्यालले संयुक्त रूपमा मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सञ्चारकर्मी, सामग्री निर्माता तथा सामाजिक सञ्जाल प्रभावकारीहरूको समेत उपस्थिति थियो ।
नयाँ टीभीएस रेडर १२५ सिंगल सिटको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। मोटरसाइकल विशेषगरी आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र दैनिक प्रयोगलाई प्राथमिकता दिने युवा राइडरलाई लक्षित गरी बजारमा ल्याइएको हो ।
नयाँ मोटरसाइकलमा चालक र पछाडि बस्ने यात्रु दुवैका लागि फराकिलो तथा आरामदायी सिट राखिएको छ। यसमा १२४.८ घन सेन्टिमिटरको इन्जिन र ५ गियरको गियरबक्स रहेको छ ।
त्यस्तै, मोटरसाइकलमा उल्टो रङको एलसीडी डिजिटल प्रदर्शनपट्टि, एलईडी बत्ती, एकल झट्का अवशोषकयुक्त निलम्बन र युएसबी चार्जिङ लगायतका आधुनिक सुविधा दिइएको छ ।
कम्पनीका अनुसार नयाँ सिंगल सिट संस्करणले टीभीएस रेडरको आकर्षक डिजाइन, आराम र दैनिक प्रयोगलाई थप सहज बनाउनेछ ।


