कास्की । पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। मृत्यु भएका विद्यार्थीहरूको पहिचान खुल्न सकेको छैन । उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
दुर्घटनाका बेला बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरू कक्षा १० को परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए। दुर्घटनामा परेका सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।


