काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिससहितको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ।
आचरणविपरीत काम गरेको र संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहालमाथि छानबिनको जिम्मेवारी एआईजी अन्जनीकुमार पोखरेललाई दिइएको थियो। तीन दिनको समयसीमा पाएका पोखरेलले दाहालको बयानसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अब प्रतिवेदन अध्ययन गरी गृहमन्त्री सुधन गुरुङले आवश्यक निर्णय गर्नेछन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेपछि उनीमाथि छानबिन सुरु भएको थियो। दाहालमाथि झापाका बिचौलियासँग सम्बन्ध राखेको र गोप्य सूचना चुहाएको आरोपसमेत लागेको छ।
गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गर्दै सोही दिन छानबिन समिति गठन गरेको थियो। उनी निलम्बनमा पर्नुअघि सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए।
छानबिन प्रतिवेदनमा कारबाही सिफारिस गरिएको भए पनि दाहालमाथि हुने अन्तिम कारबाहीबारे गृह मन्त्रालयले निर्णय गर्न बाँकी छ।


