काठमाडौं । नेपाली चलचित्र ‘अक्षरा’ असोज २३ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रले प्रदर्शनसँगै दर्शकको ध्यान खिचेको छ। चलचित्र प्रदर्शन भइरहेका हलमा दर्शकको उत्साह देखिएको छ भने विभिन्न शो हाउसफुल भएका छन्।
सोनी थापा (ढुङ्गाना) सँग सम्बन्धित निर्माण टिमको चलचित्र ‘अक्षरा’ पूर्ण पारिवारिक चलचित्रका रूपमा प्रस्तुत गरिएको छ। परिवारसँगै बसेर हेर्न सकिने कथावस्तु समेटिएको चलचित्रले नेपाली समाज, पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई पर्दामा उतारेको छ।विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरूको अभिनय तथा कथाको प्रस्तुतिलाई मुख्य आकर्षणका रूपमा लिइएको छ। पारिवारिक वातावरणमा सबै पुस्ताका दर्शकले एकसाथ बसेर मनोरञ्जन लिन सक्ने चलचित्रका रूपमा ‘अक्षरा’ दर्शकमाझ आएको हो।
चलचित्रको प्रदर्शनसँगै हलमा देखिएको दर्शकको उपस्थिति र हाउसफुल शोले ‘अक्षरा’प्रति दर्शकको चासो देखाएको छ। नेपाली चलचित्र क्षेत्रमा पारिवारिक कथामा आधारित चलचित्रको महत्त्वलाई उजागर गर्दै ‘अक्षरा’ले दर्शकलाई परिवारसँगै सिनेमा हेर्ने अवसर प्रदान गरेको छ। चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने निर्देशन विनयराज पौडेलले गरेका छन्।


