काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। बैंक र जनकपुर बोल्ट्सबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।भोलि अर्थात कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकले जनाएको छ। बैंकका अनुसार यस साझेदारीले नेपाली क्रिकेटको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन र युवालाई खेलकुदमार्फत सशक्त बनाउने उद्देश्यलाई सहयोग पुर्याउनेछ।
नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ। एनपीएलको तेस्रो संस्करणका खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक टी–२० मान्यता प्रदान गरेसँगै प्रतियोगिताको महत्त्व थप बढेको छ। यसबाट खेलाडीको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुने अवसर प्राप्त हुनेछ।एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। पहिलो संस्करणको सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई उजागर गर्न सहयोग पुर्याएको छ।मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस सहकार्यले बैंकलाई क्रिकेटमार्फत समुदायसँग जोडिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न तथा युवा सशक्तीकरणमा योगदान पुर्याउन सहयोग गर्ने बताए। बैंकले जर्सीमा आफ्नो लोगो राख्ने कार्यमा मात्र सीमित नभई नेपाली क्रिकेटको विकास र समुदायसँगको सम्बन्ध विस्तारलाई समेत महत्त्व दिएको जनाएको छ।
त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गर्दै सहकार्यप्रति खुसी व्यक्त गरे।उनले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मुक्तिनाथ विकास बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्राबीच समान उद्देश्य रहेको बताए। आईसीसीको आधिकारिक मान्यतासँगै यस सिजन खेलाडीका लागि थप महत्त्वपूर्ण बनेको उल्लेख गर्दै उनले बैंकको सहकार्यले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।नेपाली बैंकिङ क्षेत्रमा ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध बलियो बनाउने तथा नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अवसरका रूपमा लिएको जनाएको छ।बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय र सरोकारवालासँगको सम्बन्ध थप सुदृढ गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


