काठमाडौँ । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष एवं गायिका आनी छोइङ डोल्माको बैंक खातामा आएको स्रोत नखुलेको १६ लाख अमेरिकी डलरबारे विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान भएको थियो। नेपाल राष्ट्र बैंकले रकमलाई शंकास्पद मानेर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।
उक्त विषयमा अनुसन्धान जारी रहेकै बेला रकमको स्रोत चित्तबुझ्दो रूपमा खुल्न नसकेको अवस्थामा पनि उच्चस्तरीय दबाबपछि अनुसन्धान तामेलीमा राखिएको दाबी गरिएको छ। विभागका अधिकारीलाई उद्धृत गर्दै उक्त विषयमा पुनः अनुसन्धान हुन सक्ने उल्लेख गरिएको छ।विवरणअनुसार, आनीको तत्कालीन मेगा बैंक (हाल इन्भेस्टमेन्ट मेगा बैंक) मा रहेको खातामा २०७५ साल असार २६, २७ र २८ गते हङकङबाट तीन पटक रकम आएको थियो।
असार २६ गते ५ लाख ७९ हजार ९८० अमेरिकी डलर, २७ गते ५ लाख ३९ हजार ९८० डलर र २८ गते ५ लाख २९ हजार ९८० डलर जम्मा भएको विवरणमा उल्लेख छ।रकमको स्रोत शंकास्पद देखिएपछि राष्ट्र बैंकले खाता रोक्का गरी अनुसन्धान गर्न विभागलाई पत्राचार गरेको बताइएको छ। तर, अनुसन्धान तामेलीमा राखिएको र खाता फुकुवा गरिएको विवरण सार्वजनिक भएको छ।
यस विषयमा अनुसन्धान रोकिएको कारण, खाता फुकुवा गर्ने निर्णयको आधार तथा रकमको वास्तविक स्रोतबारे सम्बन्धित निकायको आधिकारिक धारणा आवश्यक छ। उपलब्ध विवरणका आधारमा मात्रै रकम सम्पत्ति शुद्धीकरणबाट आएको वा आनी छोइङले कुनै कसुर गरेको निष्कर्ष निकाल्न मिल्दैन।


