काठमाडौँ । सार्वजनिक स्थानमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा फरार अभियुक्तको खोजीलाई तीव्र बनाएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट २४ घण्टाको अवधिमा ८७ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ७५ जना विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेसन’ का क्रममा नियन्त्रणमा लिइएका हुन्। त्यसैगरी, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका आठ जना र विभिन्न मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति जारी भएका चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिक स्थानमा शान्ति–सुरक्षा कायम गर्ने, आपराधिक गतिविधि रोकथाम गर्ने तथा सर्वसाधारणलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
प्रहरीले सार्वजनिक यातायात, भीडभाड हुने क्षेत्र, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह हुने स्थान आसपास केन्द्रित भएर सुरक्षा निगरानी बढाएको जनाएको छ। यस्ता स्थानमा सर्वसाधारणमाथि दुव्र्यवहार गर्ने, हातपात तथा होहल्ला गर्ने, चोरी, लुटपाट, बिचौलियाका गतिविधि र गुण्डागर्दीजस्ता क्रियाकलापमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।अभियानका क्रममा पक्राउ परेका सबै व्यक्तिको विवरण तथा संलग्नताबारे आवश्यक जाँच भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि अनुसन्धान गरी प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


