काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) एउटा मात्र रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।आजको खेलमा दुवै टोली मैदान छिर्दा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछन् । सुदूरपश्चिमको यो प्रतियोगितामा दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम साविक च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
अर्कोतर्फ, पोखरा एभेन्जर्स भने आजको खेलमार्फत जारी एनपीएलमा आफ्नो सुखद सुरुआत गर्ने दाउमा छ ।यसैबीच, मङ्गलबार भएका खेलहरूमा जित निकाल्दै चितवन राइनोज र कर्णाली याक्सले प्रतियोगितामा विजयी सुरुआत गरिसकेका छन् । मङ्गलबार चितवनले विराटनगर किंग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए ।हालसम्मका खेलहरूको नतिजा अनुसार अङ्क तालिकामा लुम्बिनी लायन्स शीर्ष स्थानमा छ भने कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन् ।


