काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि निर्वाचन प्रहरीसहितको पोशाक खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको दोस्रो बैठक आज बस्दै छ ।सिंहदरबारमा बिहान ९ बजे बस्ने बैठकमा पोशाक खरिदबारे परेका उजुरी, अहिलेसम्म प्राप्त विवरण र अध्ययनको प्रगतिबारे छलफल हुनेछ ।गत १६ असोजमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । उपसमितिलाई प्राप्त उजुरीहरूमाथि गहन अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए ।निर्वाचन प्रहरीको पोशाक खर्चका लागि मात्रै करिब १ अर्ब रुपैयाँ निकासा भएको थियो। प्राप्त विवरण अनुसार भौगोलिक विकटता र सुगमताका आधारमा प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ देखि अधिकतम ८६ हजार ४८४ रुपैयाँसम्म खर्च भएको छ ।
निर्वाचन प्रहरीलाई उपलब्ध गराइएको पोशाकको गुणस्तरहीनता र खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको आरोप र उजुरीहरूपछि संसदीय उपसमितिले सूक्ष्म अध्ययन थालेको हो ।उपसमितिको सचिवालयले प्राप्त कागजात तथा विवरणहरू संकलन गरी अध्ययन कार्यलाई तीव्र पारिएको जनाएको छ ।


