प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विवादित व्यक्ति इनम सापकोटासँग आफ्नो चिनजान नरहेको र कहीँ कतै नभेटेको बताएका छन् ।इनम सापकोटासँग जोडेर आएको समाचारले आफू स्तब्ध बनेको शर्माले बताएका छन् ।बिहीबार एक विज्ञप्ति जारी गर्दै शर्माले आफूसँग जोडिइएको इनम सापकोटासँग आफ्नो चिनजान नभएको बताएका हुन् ।
‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहीँ कतै भेटेको पनि छैन,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।यसअघि ‘दियो पोष्ट’ अनलाइनले बिहीबार प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा अमेरिकामा घुस, फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ शीर्षकमा समाचार लेखेको थियो । ‘उक्त प्रसङ्गमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर र जनवरीमा म प्रधान न्यायाधीश पनि भइनसकेको अवस्था छ,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।उनले आधारहीन समाचारको भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।



