गोरखा । गोरखाको साम्दोस्थित लार्के बजारको पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ।पहिरोका कारण खोलामा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले बताएका छन्।
ताल फुट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।स्थानीयका अनुसार ताल तत्काल फुट्ने अवस्था देखिएको छैन। तर एकैपटक फुटेमा ठूलो बाढी आउन सक्ने जोखिम छ।
घटनास्थलमा रहेका निमा दोर्जेका अनुसार आवश्यक उपकरण उपलब्ध भए थुनिएको खोला खुलाउन सकिने अवस्था छ। उनले अहिले तत्काल जोखिम नदेखिए पनि ताल फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने बताएका छन्।रेमुनाङ खोला बुढीगण्डकीको मुहान नजिकै रहेको छ। त्यसैले ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।


