काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित बैठकस्थल पुगेका छन् ।
दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्जेन सहरमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प बुधबार नै चीन पुगेका थिए भने बिहीबार बिहान उनी औपचारिक बैठकस्थल (शेन्जेन इन्टरनेसनल एक्सचेन्ज सेन्टर) पुगेका हुन्। बुधबार र बिहीबार गरी दुई दिनसम्म सञ्चालन हुने यस बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका राष्ट्र तथा सरकार प्रमुखहरूको सहभागिता रहेको छ।
‘साझा समृद्धिका लागि एसिया–प्रशान्त समुदायको निर्माण’ (Building an Asia-Pacific Community to Prosper Together) भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा क्षेत्रीय आर्थिक सहकार्य, खुलापन, नवप्रवर्तन (इनोभेसन), व्यापार सहजीकरण तथा दिगो आर्थिक विकासका विषयमा गहन छलफल भइरहेको छ। सम्मेलनकै अवसरमा विभिन्न देशका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक भेटवार्तासमेत भइरहेका छन्।


