काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। नेपाल सरकारले कूटनीतिक तथा राजनीतिक तहबाट निरन्तर पहल गरेपछि चीन नाका खुलाउन सकारात्मक देखिएको हो।
प्राप्त जानकारीअनुसार आगामी मंसिर मसान्तभित्रै नाका सञ्चालनमा ल्याउने विषयमा चिनियाँ पक्षले सकारात्मक संकेत दिएको छ।
तातोपानी नाका सञ्चालनका लागि सिन्धुपाल्चोक क्षेत्रबाट निर्वाचित सांसद पराजुलीले पछिल्लो समय सक्रियता बढाएका छन्। उनले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी नाका यथाशीघ्र खुलाउन आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरेका थिए।
यसअघि उनले चीनका लागि नेपाली राजदूतसँग पनि नाका सञ्चालनका विषयमा छलफल गरेका थिए। सांसद पराजुलीको आग्रहपछि परराष्ट्रमन्त्री खनालले समेत चिनियाँ पक्षसँग संवाद गर्दै तातोपानी नाका पुनः सञ्चालन गर्न विशेष आग्रह गरेका छन्।
यसैबीच, सांसद पराजुलीले नाका सञ्चालनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पक्षलाई समेटेर सर्वपक्षीय छलफलसमेत गरेका थिए। नाका खुलाउन स्थानीय तहदेखि राजनीतिक र कूटनीतिक तहसम्म पहल तीव्र पारिएको छ।
नेपाल सरकारले पनि कूटनीतिक नोटमार्फत चीन सरकारलाई तातोपानी नाका पुनः सञ्चालनका लागि औपचारिक आग्रह गरिसकेको छ। उक्त आग्रहपछि चिनियाँ पक्षले नाका खुलाउने विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ।
यद्यपि, नाका सञ्चालनको निश्चित मिति र प्रक्रियाबारे दुवै देशका तर्फबाट औपचारिक घोषणा भइसकेको छैन। मंसिरभित्रै नाका सञ्चालनमा आउने संकेतले लामो समयदेखि प्रभावित सीमापार व्यापार, व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा आशा जगाएको छ।
नाका पुनः सञ्चालनमा आए चीनसँगको व्यापारिक कारोबार सहज हुनुका साथै तातोपानी क्षेत्रका व्यवसायी, आयातकर्ता, निर्यातकर्ता र स्थानीय बासिन्दाले समेत राहत पाउने अपेक्षा गरिएको छ।


