काठमाडौं । नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्यबाट हात झिक्ने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवादबाट सुरु भएको एमाले कांग्रेस सहकार्य तोडिने अवस्थामा पुगेको छ।
एमालेसँग अब सहकार्य अघि बढ्दैन भन्ने निष्कर्षमा पार्टी पुगिसकेको एक पदाधिकारीले बताए।
ती पदाधिकारीले भने, ‘हामी अब एमालेसँग सहकार्य नगर्ने निष्कर्षमा पुगिसकेका छौँ। निर्णय भएको छैन। तर मिल्ने सम्भावना सकियो भन्दा हुन्छ।’
नेकपासँग सत्ता सहकार्यको लागि एक चरणको वार्ता भएको र सकारात्मक कुराकानी भइरहेको पनि बताए।
ती पदाधिकारीले भने, ‘हामीले मिलाउनको लागि धेरै प्रयास गरेका हौँ। तर उहाँहरूको व्यवहार चित्तबुझ्दो भएन। सत्ता सहकार्यमा बस्ने, सरकारले ल्याएको बजेटलाई समर्थन नजनाउने? बजेट नै अर्को ल्याउनुपर्छ भनेपछि हामीले सहकार्यको औचित्य सकिएको निष्कर्षमा पुगेका हौँ।’
उनले कुरा मिले सत्ता सहकार्य गर्ने र नमिले बरु प्रतिपक्षमै बस्न पनि पार्टी तयार भएको ती नेताले सुनाए।
नयाँ गठबन्धनका विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष दाहालले पटक पटक छलफल गरेका छन् । उनीहरुबीच सम्भावित नयाँ सत्ता समीकरणसँगै प्रदेश सरकारहरूको भविष्य, सत्ता साझेदारीबारे कुराकानी भएको ती पदाधिकारीले बताए ।
यसैका आधारमा कर्णली र सुदूरपश्चिममा खटपट भइसकेको छ । कांग्रेसले आज र भोलिमै यसको औपचारिक निर्णय गर्नसक्ने ती नेताको भनाइ छ ।


