एक वर्षमा झण्डै ८ लाख नेपाली विदेशिए, यूएई पहिलो गन्तव्य, युरोपतर्फ बढ्दो आकर्षण

आर्थिक वर्ष २०८२/०८३ मा रोजगारीका लागि ७ लाख ९२ हजार १८७ नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको बाटो समातेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या ४७ हजार ७९ ले कम भए पनि युरोपेली मुलुकतर्फ नेपाली श्रमिकको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा १५१ देशका लागि ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष भने कुल श्रम स्वीकृति लिनेको संख्या ७ लाख ९२ हजार १८७ मा सीमित भएको छ।

श्रम स्वीकृति लिनेहरूमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। अघिल्लो वर्षको तुलनामा पुरुषको संख्या घटे पनि महिलाको संख्या भने करिब एक हजारले बढेको विभागको तथ्यांकले देखाएको छ।

दक्ष जनशक्ति विदेशिने क्रम तीव्र

विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा ठूलो हिस्सा दक्ष जनशक्तिको रहेको छ। एक वर्षमा ४ लाख ८२ हजार ६४३ जना दक्ष श्रमिक, १ हजार ९६ जना उच्च सीपयुक्त तथा ३ हजार ५७० जना प्रोफेसनल जनशक्तिले श्रम स्वीकृति लिएर विदेश गएका छन्।

यस्तै, १ लाख १४ हजार ६१४ जना अर्धदक्ष र १ लाख ९० हजार २६४ जना अदक्ष श्रमिक पनि वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।

यूएई पहिलो रोजाइ

आर्थिक वर्ष २०८२/०८३ मा नेपाली श्रमिकको सबैभन्दा ठूलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। पहिलोपटक जाने र बिदाबाट फर्किएर पुनः जाने दुवैलाई जोड्दा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्।

त्यसपछि मलेसिया दोस्रो र कतार तेस्रो ठूलो गन्तव्य बनेका छन्। यस अवधिमा मलेसियाका लागि १ लाख ३२ हजार ६४६, कतारका लागि १ लाख ३२ हजार ५१, साउदी अरेबियाका लागि १ लाख २४ हजार ५८३ तथा कुवेतका लागि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपेली मुलुकतर्फ बढ्दो आकर्षण

खाडी मुलुकपछि अहिले रोमानिया नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा उभिएको छ। एक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्।

त्यसपछि जापान पनि आकर्षक गन्तव्य बनेको छ, जहाँ २२ हजार २६६ जना नेपाली श्रमिक पुगेका छन्।

विभागका अनुसार पछिल्ला वर्षहरूमा साइप्रस, क्रोएसिया, टर्की, मरिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड र अस्ट्रिया लगायतका युरोपेली मुलुकमा जाने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ।

एक वर्षमै साइप्रसका लागि ११ हजारभन्दा बढी, क्रोएसियाका लागि ७ हजार ६६२, टर्कीका लागि ६ हजार ३७० र मरिससका लागि ६ हजार ३३४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ।

पछिल्ला वर्षहरूमा खाडी मुलुकमा केन्द्रित नेपाली श्रमिकको गन्तव्य विस्तार हुँदै युरोपेली मुलुकतर्फ आकर्षण बढ्दै गएको विभागको तथ्यांकले संकेत गरेको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई