नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी फुटाउने नभई पार्टी बनाउने अभियानका लागि राष्ट्रिय भेला बोलाउनुपर्ने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उनले नयाँ पार्टी बनाउन खुट्टा कमाउन नहुने बताए ।
उनले शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस तीनवटै तहमा पहिलो पार्टी बने पनि गगन थापा समूहले खरानी दस्ता भनेर नामकरण गरेको भन्दै आलोचना गरे ।
२१ फागुनको चुनावमा गगन थापाको नेतृत्वमा जाँदा उनी आफैँ चुनाव हारेको दृष्टान्त पेस गर्दै बस्नेतले को हो त असली खराने दस्ता भनेर प्रश्न गरे । बस्नेतले काठमाडाैं ४ बाट थापाले चुनाव लडेको भए जमानत जफत हुने अवस्था रहेको जिकिर गरे ।
उनले काठमाडाैं ४ मा सिन्धुपाल्चोकका मात्रै ९ हजार मतदाता रहेको बताउँदै सबै मतदाताको भावना बुझेर आफूले यो अभिव्यक्ति दिएको बताए । उनले कांग्रेस कमजोर भए प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने नभई मुलुक कसको हातमा जाने हो भन्ने चिन्ता रहेको बताउँदै तत्काल केन्द्रीय भेला बोलाउन माग गरे ।
उनले अब एकताको रटान लगाएर अर्थ नहुने बताउँदै देशभर प्यारालाल संगठन निर्माण गरेर प्रजातन्तवादीहरूलाई एकजुट बनाउनुपर्ने बताए । प्रजातन्त्रवादीहरू गगन थापाको सती जान नसक्ने बस्नेतले बताए । बस्नेतले कांग्रेसको विशेष महाधिवेशन आन्तरिक कारणले मात्रै नभएको बताउँदै कांग्रेस कमजोर बनाउने षड्यन्त्रकारीहरूको प्रयोग सफल भएको बताए ।


