नवलपरासी (बदघार्ट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका वडा नम्बर ५ ले नारायणी नदी पारि बस्दै आएका स्थानीयको विवरण संकलन गरेको छ ।
२१९ जनाको विवरण संकलन गरेर पालिकामार्फत जिल्ला प्रशासन कार्यालय पठाइएको छ । नागरिकता प्रयोजनका लागि विवरण संकलन गरिएको वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।
जनआस्थासँग भने,‘जिल्ला प्रशासनले नागरिकताका लागि स्थानीयको विवरण मागेको थियो । हामीले विवरण पठाइसकेका छौं ।’ नारायणी नदी पारिका अधिकांश स्थानीयसँग नागरिकता छैन । नागरिकता माग गर्दै उनीहरुले अघिल्लो महिना काठमाडौंमा प्रदर्शन गरेका थिए । सरकारले विभिन्न सम्झौता गरेर उनीलाई घर फिर्ता पठाएको थियो ।
सम्झौताअनुसार नागरिकता वितरणका लागि विवरण संकलन गरिएको यादवको भनाइ छ । उनका अनुसार सो विवरण प्रशासनले गृह मन्त्रालय पठाएको छ । ‘सो विवरण प्रशासनले गृह पठाएको छ । अब उहाँहरुलाई नागरिकता दिने प्रक्रिया अगाडि बढ्छ’,उनले भने ।



