काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै विगतमा भएका सम्झौताजस्तै यसपटकका सहमति कार्यान्वयनविहीन नबनाउन आग्रह गरेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा मधेशका पछिल्ला घटनाक्रम, सुरक्षा अवस्था तथा राजनीतिक समाधानका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले विगतका सरकारहरूले गरेका सम्झौता कार्यान्वयन नगरेको स्मरण गराउँदै यसपटक त्यस्तो नदोहोरिन आग्रह गरिएको बताए।
‘सम्झौता भएपछि त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला। विगतका सरकारले जस्तो नगर्नुहोला भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौँ,’ उनले भने।
महतोले मधेशमा फैलिएको तनाव तत्काल नियन्त्रण गर्न राज्य संवेदनशील र सक्रिय हुनुपर्नेमा पनि जोड दिए। राज्यको प्रभावकारी प्रतिक्रिया नआए स्थिति झन् जटिल बन्न सक्ने उनको भनाइ थियो।
‘मधेशमा फैलिएको आगो रोक्नुपर्छ। राज्यले समयमै प्रतिक्रिया नदिए त्यो आफैं रोकिँदैन। हामी सबै सहयोग गर्न तयार छौँ। सबै पक्षलाई साथमा लिएर दंगालाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरा राखेका छौँ,’ उनले भने।
प्रधानमन्त्री शाहले ढिलै भए पनि राष्ट्रका नाममा सम्बोधन गरेर नागरिकलाई संयमता अपनाउन आह्वान गरेकोप्रति धन्यवाद दिँदै महतोले उक्त सम्बोधन अझै पहिले भएको भए परिस्थिति थप बिग्रिन नपाउने धारणा पनि व्यक्त गरे।
‘ढिलो भए पनि देशका नाममा सम्बोधन गर्नुभयो, त्यसका लागि धन्यवाद छ। तर अलि पहिले नै सम्बोधन भएको भए अहिलेको अवस्था यहाँसम्म नआउन पनि सक्थ्यो भन्ने हाम्रो धारणा हो,’ उनले भने।


