बेइजिङ — वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई लक्षित गरी हालै चालेका कदमहरूको बदलास्वरूप बेइजिङले बुधबार अमेरिका र उसका कम्पनीहरूविरुद्ध विभिन्न प्रतिबन्धात्मक उपायहरूको घोषणा गरेको छ।
प्रविधि क्षेत्रमा तीव्र प्रतिस्पर्धाका बीच विश्वका दुई ठूला अर्थतन्त्रहरूले आफूले भनेको “रचनात्मक रणनीतिक स्थायित्व” कायम राख्न संघर्ष गरिरहेका बेला चिनियाँ नेता शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना अमेरिकामा हुने भनिएको शिखर सम्मेलनको केही साताअघि यो जवाफ जस्तालाई त्यस्तै शैलीको प्रतिबन्ध आएको हो।
चीनको वाणिज्य मन्त्रालयले एक बायोटेक र एक स्रोत विश्लेषण फर्मसहित धेरै अमेरिकी निकायहरूमाथि प्रतिबन्ध लगाउने र अमेरिकातर्फ हुने ड्रोन तथा त्यससँग सम्बन्धित पार्टपुर्जा एवं प्रविधिको निर्यात नियन्त्रणमा कडाइ गर्ने घोषणा गरेको छ।
उइगर र अन्य अल्पसंख्यक समुदायमाथि मानव अधिकार दुरुपयोग गरेको आरोप लगाउँदै गत साता अमेरिकाले ४३ वटा चिनियाँ कम्पनीहरूबाट हुने आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसकै बदलामा छ वटा अमेरिकी कम्पनीहरूलाई चीनको तथाकथित ‘प्रतिकारात्मक सूची’ (Countermeasures List) मा थपिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सातौँ कम्पनीमाथिको प्रतिबन्ध भने अमेरिकी सञ्चार आयोग (FCC) ले गत महिना मुख्यतया चीनमा बन्ने नयाँ ह्युमनोइड तथा क्वाड्रुपेड (चारखुट्टे) रोबोट र पावर कन्भर्टरहरूको आयातमा लगाएको प्रतिबन्धसँग जोडिएको छ।
सूचीबद्ध कम्पनीहरूसँग व्यापार गर्न वा सहकार्य गर्न चीनभित्रका निकाय तथा व्यक्तिहरूलाई रोक लगाइएको छ।
अमेरिकी सञ्चार आयोग (FCC) ले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै गत डिसेम्बरमै चीनसहित विदेशी निर्माताहरूले बनाएका नयाँ ड्रोन मोडल र महत्त्वपूर्ण उपकरणहरूको आयात तथा बिक्रीमा प्रतिबन्ध लगाइसकेको थियो। विश्वको सबैभन्दा ठूलो ड्रोन निर्माता चीनले हालैका वर्षहरूमा यस्ता उत्पादनहरूको निर्यात नियन्त्रणमा कडाइ गर्दै आएको छ।
बुधबार बेइजिङले घोषणा गरेका उपायहरूमा विदेशी सिस्टम सफ्टवेयर भएका आयातित कार्यालय उपकरणहरूको राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गर्ने र अमेरिकासँगको केही फ्याक्ट्री ट्र्याकिङ निरीक्षण सहकार्य स्थगित गर्ने विषय पनि समावेश छन्।
चिनियाँ मन्त्रालयका प्रवक्ताले चिनियाँ फर्महरूलाई लक्षित गरी अमेरिकाले हालै चालेका कदमहरूको जवाफमा बेइजिङसँग “आवश्यक प्रतिकारात्मक कदम चाल्नुको अर्को विकल्प नरहेको” बताएका छन्।
प्रवक्ताले भने, “चीन अमेरिकालाई सम्बन्धित कदमहरू तुरुन्तै फिर्ता लिन, आफ्ना गल्तीपूर्ण कार्यहरू रोक्न… र रचनात्मक तथा स्थिर चीन-अमेरिका सम्बन्ध कायम राख्न मिलेर काम गर्न आग्रह गर्दछ।”
“यदि अमेरिकाले चीनविरुद्ध नयाँ प्रतिबन्धात्मक उपायहरू ल्याउन जिद्दी गरिरह्यो भने, चीनले थप प्रतिकारात्मक कदमहरू चाल्नेछ।”
नयाँ रोबोट र पावर कन्भर्टरको आयातमा लगाइएको प्रतिबन्ध तथा जबरजस्ती श्रम गराएको आरोपमा चिनियाँ फर्महरूलाई कालोसूचीमा राख्नुका अलावा, ट्रम्प प्रशासनले हालैका साताहरूमा इरानी इन्धन ओसारपसार गरेको आरोपमा चिनियाँ सिपिङ अपरेटरहरूमाथि प्रतिबन्ध लगाएको छ र दुई वटा प्रमुख नागरिक विश्वविद्यालयहरूसहित नयाँ संस्थाहरूलाई पेन्टागनको कालोसूचीमा थपेको छ।
जबरजस्ती श्रमबाट बनेका उत्पादनहरूको निर्यात रोक्न असफल भएको आरोप लगाउँदै गत महिना वासिङ्टनले १० प्रतिशत वा १२.५ प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएका दर्जनौँ देशहरूमा चीन पनि परेको थियो। साथै, ट्रम्प प्रशासनका अधिकारीहरूले हालै चिनियाँ एआई (AI) फर्महरूमाथि प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन्।
अर्को महिना हुने अपेक्षा गरिएको शी-ट्रम्प शिखर सम्मेलनको तयारीका संकेतहरूसँगै यो तनाव पनि चुलिँदै गएको छ।
गत साता शीर्ष अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरूबीच भिडियो लिङ्कमार्फत व्यापार वार्ता भएको थियो। यसअघि जुलाईको सुरुमा चिनियाँ उप-परराष्ट्र मन्त्रीले अमेरिकाको भ्रमण गरेका थिए, जसलाई शीको सम्भावित भ्रमणअघिको पूर्वतयारी यात्राका रूपमा हेरिएको थियो।
सौजन्य: www.edition.cnn.com


