भदौ ११, काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै सहकार्य गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई नाडाले आह्वान गरेको छ । विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएकाले सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने नाडाको भनाइ छ ।
नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
विपद्पछिको कठिन परिस्थितिमा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति पनि नाडाले आभार व्यक्त गरेको छ । प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्ने तथा उद्धार र राहत कार्यमा समन्वय गर्ने सरकारी प्रयासको नाडाले उच्च कदर गरेको जनाएको छ ।
नाडाले विपद्का कारण आर्थिक गतिविधि पूर्णरूपमा प्रभावित हुन नदिन पनि जोड दिएको छ । नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला विपद् आएको भए पनि आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौंको भृकुटीमण्डपमा जारी अटो शो निरन्तर सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने बताएका छन् । “विपद्को यस कठिन घडीमा सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिन्छ,” नाडाले जारी गरेको अपिलमा उल्लेख छ ।
नाडाले आर्थिक गतिविधिलाई निरन्तरता दिँदै विपद् प्रभावितको सहयोगमा जुट्न सम्पूर्ण निजी क्षेत्र तथा नागरिकलाई आग्रहसमेत गरेको छ ।
सौजन्य- www.onlinekendra.com


