ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको जानकारी दिएका छन् ।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए ।
‘जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ,’ उनले भने, ‘विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं ।’
मन्त्री श्रेष्ठले कुनकुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको बताए । ‘विज्ञहरुसँग परामर्श लिँदै छौं । छलफलमा धेरै तालको नाम विज्ञबाट आएको छ । अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं ।’
मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्डबाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २१ हिमताल जोखिमयुक्त छन् । कुल ४७ मध्ये चीनको तिब्बततिर २५ र भारतमा एउटा हिमताल पर्छन् । नेपालमा ३ हजार ८ सयभन्दा बढी हिमनदी र २ हजार ३ सयभन्दा बढी हिमताल छन् ।
सौजन्य- www.ekantipur.com


