एआई विकासको गति घटाउने बहस चर्किंदा ट्रम्पको विरोध

कृत्रिम बुद्धिमता (एआई)को तीव्र विकासले मानव जीवनमा नयाँ सम्भावनाको ढोका खोलिरहेका बेला यसको जोखिम नियन्त्रण गर्न विकासको गति केही सुस्त बनाउनुपर्ने बहस चर्किएको छ । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासमा थप सावधानी अपनाउनुपर्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको कडा विरोध गरेका छन् । ट्रम्पले एआईमा आवश्यक नियन्त्रण वा सुरक्षा मापदण्ड (गार्डरेल्स)का लागि बलियो र बुद्धिमान राष्ट्रपतिको नेतृत्व नै पर्याप्त हुने दाबी गरेका छन् ।

एआई विकासको गति घटाउने प्रस्तावले प्रविधि उद्योग, लगानी बजार र राष्ट्रिय सुरक्षासम्बन्धी बहसलाई एकैपटक तीव्र बनाएको छ । एकातिर एआईले चिकित्सा, अनुसन्धान, उत्पादकत्व र दैनिक जीवनमा उल्लेखनीय लाभ पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ भने अर्कोतिर यसको अनियन्त्रित विकासले साइबर सुरक्षा, मानव नियन्त्रण, वातावरण र शक्ति केन्द्रीकरणमा गम्भीर जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त भइरहेको छ ।

ट्रम्पले भने– एआईमा जित्नेले विश्वमा जित्नेछ

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै एआई र डाटा सेन्टरविरुद्ध ‘घृणित षड्यन्त्र’ भइरहेको दाबी गरेका छन् । उनका अनुसार एआईमा आवश्यक नियन्त्रणका लागि बलियो र उच्च बौद्धिक क्षमता भएको राष्ट्रपतिको नेतृत्व पर्याप्त छ । उनले आफ्नो प्रशासनले एआई कम्पनीहरूलाई खराब वा सम्भावित रूपमा हानिकारक काम गर्नबाट रोक्न आपराधिक तथा नियामकीय अधिकार प्रयोग गरिरहेको पनि बताएका छन् ।

ट्रम्पले अमेरिकाले एआईमा चीनभन्दा धेरै अगाडि रहेको दाबी गर्दै यो अग्रता कायम राख्नुपर्ने बताएका छन् । उनका शब्दमा, ‘जसले एआईमा जित्छ, उसले जित्छ ।’ यसबाट एआईलाई उनले केवल प्रविधिको विषय नभई अमेरिकी आर्थिक, सामरिक र भूराजनीतिक शक्तिसँग जोडिएको प्रतिस्पर्धाका रूपमा हेरेको देखिन्छ ।

तर एन्थ्रोपिकका प्रमुख अमोडेईको धारणा फरक छ । उनले एआई विकास रोक्नुपर्ने नभई यसको विकाससँगै सुरक्षा परीक्षण, जोखिम मूल्याङ्कन र निगरानीका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन् । उनको चिन्ता अमेरिकी कम्पनीहरू विकासमा पछि पर्न सक्छन् भन्नेमात्र होइन, चीन वा अन्य शक्तिहरू एआईमा अगाडि पुगेमा त्यसले अमेरिका र विश्वकै सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने सम्भावनासँग पनि सम्बन्धित छ ।

 

साम अल्टम्यान र एलन मस्कले गरे समर्थन

एन्थ्रोपिकको प्रस्तावलाई एआई उद्योगकै प्रभावशाली व्यक्तिहरूले पनि समर्थन गरेका छन् । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआई विकासको गति नियन्त्रण गर्नु भनेको विकास रोक्नु नभएको स्पष्ट पारेका छन् । उनका अनुसार एआईको प्रगति सम्भव भएसम्म तीव्र बनाउन सकिए पनि मानव सुरक्षाका लागि आवश्यक परीक्षण, निगरानी र अन्य उपाय अपनाउन विकासको गति केही सुस्त बनाउनुपर्छ ।

अल्टम्यानले एआईका कारण मानवताले भविष्यमा आफ्नो नियन्त्रण गुमाउने वा शक्ति केही सीमित व्यक्तिहरू तथा संस्थामा अत्यधिक केन्द्रित हुने अवस्थाबाट बच्नुपर्ने बताएका छन् । उनले एआई सधैँ मानिसको सेवामा हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओपनएआईले स्वतन्त्र मूल्याङ्कनकर्तालाई आफ्ना प्रणालीको परीक्षण र मूल्याङ्कनमा कर्मचारीसरह पहुँच दिने योजना अघि सारेको पनि उल्लेख गरिएको छ ।

एन्थ्रोपिकको मागलाई स्पेसएक्सका प्रमुख तथा ग्रोकका संस्थापक एलन मस्कले समेत समर्थन गरेका छन् । यसले एआईको विकासमा सुरक्षा र जिम्मेवारीसम्बन्धी प्रश्न केवल बाह्य आलोचकहरूले उठाएको नभई प्रविधि उद्योगभित्रै पनि गम्भीर बहसको विषय बनेको देखाउँछ ।

अमेरिकी सरकारको द्विविधाः सुरक्षा कि चीनसँगको प्रतिस्पर्धा ?

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एआईमा जोखिम रहेको स्वीकार गर्दै सरकारले सावधानीपूर्वक र बुद्धिमत्तापूर्ण ढङ्गले नियमन गर्नुपर्ने बताएका छन् । तर उनले चीनसँगको दीर्घकालीन एआई प्रतिस्पर्धामा अमेरिका पछि पर्न नहुनेमा जोड दिएका छन् ।

भान्सले एआई कम्पनीहरूले आफैँलाई नियमन गर्न सरकारसँग आग्रह गर्नु केही हदसम्म ‘ट्रोजन हर्स’ जस्तो हुन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । उनका अनुसार प्रभावकारी नियमनका लागि अमेरिकी संसद् र ह्वाइट हाउसबिच वास्तविक सहमति आवश्यक छ, ताकि त्यसले दीर्घकालीन रूपमा काम गर्न सकोस् ।

यसले अमेरिकी सरकारसामु रहेको मूल चुनौती उजागर गर्छ । एआई विकासलाई कडा रूपमा नियमन गर्दा सुरक्षा जोखिम कम हुन सक्छ, तर त्यसले अमेरिकी कम्पनीहरूको प्रतिस्पर्धात्मक गति घटाएर चीनलाई अगाडि बढ्ने अवसर दिन सक्छ भन्ने चिन्ता पनि छ । अर्कोतर्फ, सुरक्षाका उपायबिना तीव्र विकासलाई प्राथमिकता दिँदा भविष्यमा उत्पन्न हुन सक्ने क्षति अझ गम्भीर हुन सक्ने सम्भावना छ ।

चीनको दृष्टिकोण : विकाससँगै सुरक्षा

एआईसम्बन्धी विश्वव्यापी प्रतिस्पर्धामा चीन पनि सक्रिय छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतमा भएको बैठकका क्रममा खुला स्रोत प्रविधि र प्रविधि साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले विश्वव्यापी एआई शासनसम्बन्धी सम्झौताको प्रस्तावसमेत दोहोर्‍याएका छन् ।

चीनका शीर्ष गुप्तचर अधिकारी चेन यीशिनले एआईलाई प्रमुख शक्तिहरूबिचको रणनीतिक प्रतिस्पर्धाको नयाँ क्षेत्रका रूपमा व्याख्या गरेका छन् । उनले एआईको विकास र सुरक्षाबिच सन्तुलन कायम गर्नुपर्ने बताउँदै विद्यमान कानुन, नियमन तथा नैतिक निर्देशिकामा सुधार आवश्यक रहेको उल्लेख गरेका छन् । जोखिमको पूर्वसूचना, आपत्कालीन प्रतिक्रिया प्रणाली र अन्तर्राष्ट्रिय सहयोगलाई पनि उनले महत्त्व दिएका छन् ।

यद्यपि अमेरिकी एआई कम्पनीहरूले विकासको गति घटाउँदा चिनियाँ कम्पनीहरूलाई अगाडि बढ्ने अवसर मिल्न सक्ने चिन्ता व्यक्त गरेका छन् । यसले एआईसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य र राष्ट्रिय प्रतिस्पर्धाबिचको तनावलाई अझ स्पष्ट बनाएको छ ।

एआईको वातावरणीय असर पनि चिन्ताको विषय

एआईको विकाससँगै डाटा सेन्टरहरूको विस्तार भइरहेको छ । एआई प्रणाली सञ्चालन गर्न ठुलो मात्रामा विद्युत् आवश्यक पर्छ भने कतिपय डाटा सेन्टरमा उपकरण चिस्याउन प्रशस्त पानीसमेत प्रयोग हुन्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सामान्य एआई केन्द्रित डाटा सेन्टरले करिब एक लाख घरपरिवारले प्रयोग गर्ने बराबर विद्युत् खपत गर्न सक्छ । निर्माण भइरहेका ठुला डाटा सेन्टरको खपत त्यसको २० गुणासम्म हुन सक्ने उल्लेख छ ।

सन् २०२४ मा विश्वको कुल विद्युत् खपतमा डाटा सेन्टरको हिस्सा करिब १.५ प्रतिशत रहेको र सन् २०३० सम्ममा यो दोब्बर हुन सक्ने अनुमान गरिएको छ । विश्वको विद्युत् उत्पादनमा जीवाश्म इन्धनको ठुलो हिस्सा अझै कायम रहेकाले एआईका लागि डाटा सेन्टर विस्तार हुँदा छोटो अवधिमा हरितगृह ग्यास उत्सर्जन बढ्न सक्ने वातावरणीय चिन्ता छ ।

एआईले भविष्यमा जलवायु परिवर्तनका समाधान खोज्न सहयोग पुर्‍याउन सक्ने अपेक्षा भए पनि त्यसका लागि आवश्यक ऊर्जा र पानीको खपत आफैँमा चुनौती बनिरहेको छ । त्यसैले एआईको विकाससम्बन्धी बहसमा प्रविधि र सुरक्षा मात्र नभई वातावरणीय दिगोपनालाई पनि समेट्नुपर्ने देखिन्छ ।

एआईका लाभ र जोखिम

एआई अहिले नै क्यान्सर अनुसन्धान तथा उपचार, चिकित्सा निदान, खोज प्रणाली, मनोरञ्जन र व्यक्तिगत सेवाजस्ता क्षेत्रमा प्रयोग भइरहेको छ । बेलायत सरकारले फोक्सोको क्यान्सर छिटो पहिचान गर्न तथा मुटुसम्बन्धी रोग, स्ट्रोकलगायतका क्षेत्रमा एआई र डिजिटल प्रविधिको प्रयोग बढाउन लगानी घोषणा गरेको छ । यसबाट एआईले स्वास्थ्य सेवामा समय बचत गर्ने र उपचारको पहुँच सुधार्ने सम्भावना देखिन्छ ।

तर एआईका जोखिमलाई बेवास्ता गर्न सकिँदैन । विज्ञहरूले कुनै शत्रु राष्ट्र वा समूहले एआईको प्रयोग गरेर महत्त्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गरेमा ठुलो क्षति हुन सक्ने चेतावनी दिएका छन् । सैन्य क्षेत्रमा स्वायत्त प्रणालीको बढ्दो प्रयोगले पनि जोखिमलाई थप जटिल बनाएको छ ।

एआईको विकासका लागि विश्वव्यापी रूपमा पर्याप्त र प्रभावकारी कानुनी सुरक्षा व्यवस्था अझै स्थापित भइनसकेको विज्ञहरूको धारणा छ । केही कम्पनीहरूले नियमनको माग गरिरहेका भए पनि अत्यधिक नियमनले प्रतिस्पर्धामा असर पार्ने तर्कसमेत गरिरहेका छन् । यस्तो अवस्थामा कम्पनीहरूको स्वनियमन, सरकारी कानुन, स्वतन्त्र सुरक्षा परीक्षण र अन्तर्राष्ट्रिय सहकार्यबिच सन्तुलन खोज्नु आवश्यक देखिन्छ ।

एआईलाई सुस्त पार्ने बहसले सेयर बजारमा ठुलो गिरावट

एआईको विकासमा गति कम गर्नुपर्ने बहस चर्किएपछि एआईसँग सम्बन्धित कम्पनीहरूको सेयरमा सोमबार ठुलो गिरावट आएको छ । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले प्रविधिको विकाससँगै सुरक्षा निगरानी र नियमन बढाउनुपर्ने बताएपछि यो बहस तीव्र बनेको हो ।

दक्षिण कोरियामा चिप निर्माता एसके हाइनिक्सको सेयर ६.४ प्रतिशत र सामसङ इलेक्ट्रोनिक्सको शेयर ४.१ प्रतिशतले घटेको छ । एआई कम्पनी ओपनएआईमा ठुलो लगानी गरेको जापानको सफ्टबैंकको सेयर १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । युरोपमा जर्मनीको इन्फिनियन ७.६ प्रतिशत र नेदरल्यान्ड्सको एएसएमएल ५.२ प्रतिशतले घटेका छन् । अमेरिकी प्रविधि कम्पनीहरूमा आधारित नास्डाक परिसूचक पनि बजार खुल्दा करिब १.८ प्रतिशतले घट्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

लगानी निर्देशक रस मोल्डका अनुसार एआईको तीव्र विकास नै यसको बलियो पक्षविरुद्ध जाने सम्भावना देखिन थालेको छ । एआई कम्पनीहरूको मूल्याङ्कन अत्यधिक बढेको र सन् १९९० को दशकको अन्त्यतिर देखिएको डटकम उछाल तथा पतन दोहोरिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

बैंक अफ इङ्ल्यान्डका पूर्वउपगभर्नर जोन कनलिफले एआईबाट हुने नाफासम्बन्धी अपेक्षामा ठुलो परिवर्तन आए कम्पनीहरूको मूल्यमा व्यापक गिरावट आउन सक्ने चेतावनी दिएका छन् ।

(बीबीसीले चलाएको बहसमा आधारित)

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको