काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा वर्षमा घरजग्गा कारोबारको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको हो। अघिल्लो आवमा यस्तो कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको सङ्ख्या १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो।
त्यस्तै, लिखत पारितअन्तर्गत राजीनामा कारोबारको सङ्ख्या समीक्षा अवधिमा २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आवको चौथो त्रैमासमा यस्तो कारोबार ८.१५ प्रतिशतले मात्रै बढेको थियो।
७ खर्ब २० अर्बभन्दा बढीको कारोबार
समीक्षा अवधिमा कारोबार भएको घरजग्गाको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।
राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आवमा यस्तो कारोबार रकम ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ थियो।
घरजग्गा कारोबार बढेसँगै त्यसबाट प्राप्त हुने राजस्व पनि बढेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो आवको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो।
त्यस्तै, घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आवको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।
घरजग्गा क्षेत्रमा बैंक कर्जा विस्तार
समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि बढेको छ। आवासीय घरजग्गा कर्जासहित यस्तो कर्जा ६.९३ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो आवको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।
बागमतीमा कारोबारको वृद्धि उच्च
प्रदेशगत रूपमा घरजग्गा कारोबार सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने कारोबार सङ्ख्या ३.४४ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा घरजग्गा कारोबार सङ्ख्या बढेको छ।
समीक्षा अवधिमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ। बागमती प्रदेशमा कारोबारको कुल मूल्य १७५.३३ प्रतिशतले बढ्दा मधेश प्रदेशमा ३१.९८ प्रतिशतले बढेको छ।
काठमाडौंमा घरजग्गा कारोबारको सङ्ख्या १५५ प्रतिशत बढ्यो
महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको सङ्ख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगन्जमा २९.१९ प्रतिशतले कारोबार सङ्ख्या बढेको छ।
समीक्षा अवधिमा सबै महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल पनि बढेको छ। काठमाडौं महानगरपालिकामा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगन्जमा १३.३१ प्रतिशतले बढेको छ।
त्यस्तै, सबै महानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य बढेको छ। काठमाडौं महानगरपालिकामा यस्तो वृद्धिदर सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ।
उपमहानगरपालिकामा पनि कारोबार बढ्यो
उपमहानगरपालिकामध्ये कलैया बाहेक सबैमा घरजग्गा कारोबारको सङ्ख्या बढेको छ। धनगढी उपमहानगरपालिकामा यस्तो कारोबार सङ्ख्या सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा कारोबार सङ्ख्या स्थिर रहेको छ।
समीक्षा अवधिमा सबै उपमहानगरपालिकामा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल बढेको छ। हेटौँडा उपमहानगरपालिकामा यस्तो क्षेत्रफल सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्यांकमा उल्लेख छ।


