काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाअनुसार नबढेपछि वाणिज्य बैंकहरूले असोजका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ।
असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको यस्तो औसत दर असोजमा ३.०६६५ प्रतिशतमा झरेको छ।
व्यक्तिगत मुद्दतिमा प्रभुको सबैभन्दा बढी ब्याज
बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ।
सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
नेपाल बैंक र कृषि विकास बैंकले अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, ग्लोबल आइएमई र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ। भदौमा बैंकले ४.५५ प्रतिशत ब्याज दिएको थियो।
एभरेस्ट बैंकले पनि यस्तो ब्याजदर ४.०५ प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा ल्याएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत तथा कुमारी बैंकले ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशत कायम गरेको छ।
संस्थागत मुद्दतिमा सानिमाको बढी
संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंक, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतले २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
बैंकहरूले असोजका लागि सार्वजनिक गरेको ब्याजदरमा केहीले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन् भने धेरै बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। संस्थागत निक्षेपको ब्याजदरमा भने तुलनात्मक रूपमा कम परिवर्तन भएको छ।
बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर रहँदा लगानीयोग्य रकम बढेको अवस्थामा निक्षेप तान्न बैंकहरूबीच हुने ब्याजदर प्रतिस्पर्धा पनि कम हुने गर्छ। असोजका लागि सार्वजनिक ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपको औसत दर घट्नुले यही अवस्थासँग सम्बन्धित बजार प्रवृत्ति देखाउँछ।


