काठमाडौँ । बर्दियामा गुडिरहेको ईभी माइक्रोबसमा आइतबार बिहान अचानक आगलागी भएको छ। कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००२ ज ४३३ नम्बरको ईभी माइक्रो बर्दिया नगरपालिका–७ रम्तापुरस्थित हाइवेमा गुडिरहेको अवस्थामा आगलागी भएको हो। प्रहरीका अनुसार, कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको माइक्रोमा अचानक आगो लागेको थियो। आगलागी हुँदा माइक्रोमा चालक र सहचालक मात्रै रहेका थिए।
घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट माइक्रोमा राखिएका विभिन्न कागजपत्र तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराले जानकारी दिए। ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


