हेरचाहको बन्धन तोड्दै बर्दियाका अपाङ्गता परिवार : घरमै सीप सिकेर बन्दैछन् आत्मनिर्भर

बर्दिया । बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको अधिकांश समय विगत दुई दशकदेखि श्रीमान् वीरबहादुर चौधरीको हेरचाहमै बितिरहेको छ । दुर्घटनामा परी श्रीमान् पूर्ण अपाङ्गता भएपछि परिवारको आर्थिक आधारसँगै सीताको नियमित रोजगारी र आयआर्जनको अवसरसमेत गुम्यो । श्रीमान्को हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण बाहिर गएर काम गर्न कठिन भएपछि सीताको दिनचर्या घरमै सीमित भयो । सीताजस्तै सोही ठाउँका देवीराम थारुको आठ वर्षयता आमाको हेरचाहमै समय बितिरहेको छ । उच्च रक्तचापलगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनले पनि बाहिर गएर रोजगारी गर्ने अवसर गुमाएका थिए । तर अहिले सीता र देवीरामको जीवनमा नयाँ आशा पलाएको छ । घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि उनीहरू बेतबाँसका सामग्री निर्माणमा जुटेका छन् । बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एकमहिने तालिम सञ्चालन गरेको हो । तालिममा सहभागी सीताले सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिने विश्वास व्यक्त गरिन् ।

‘सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ,’ उनले भनिन् । देवीरामले पनि घरमै बसेर मुडा, पूजा टोकरी, ह्याङ्गरलगायतका सामग्री बनाउन सक्ने भएको बताए । ‘पहिले आमाको हेरचाहका लागि घरमै बस्नुपर्थ्यो । बाहिर जाने अवस्था थिएन,’ उनले भने, ‘अहिले घरमै बसेर सीपअनुसार काम गर्न सक्ने भएको छु ।’ सीता र देवीराम उदाहरण मात्र हुन् । गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार तालिमबाट लाभान्वित भएका छन् । आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारलाई सीप र आयआर्जनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ । केन्द्रका अनुसार बर्दियामा करिब १७ हजार अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये परिवारको सहारामा जीवन बिताइरहेका करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेको केन्द्रका अध्यक्ष नेत्र सापकोटाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा मात्र हेर्न नहुने सापकोटाको भनाइ छ । सीप र अवसर पाए उनीहरू पनि आत्मनिर्भर बन्न सक्ने उनले बताए । ‘अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ ।’

तालिमपछि उत्पादन भएका सामग्रीको बजारीकरणको जिम्मेवारीसमेत केन्द्रले लिने जनाएको छ । बजारमा बेतबाँसबाट बनेका सामग्रीको माग रहेकाले सीपलाई उत्पादन र बजारसँग जोड्ने प्रयास भइरहेको सापकोटाले बताए । कच्चा पदार्थ बेतबाँस स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहलसमेत भइरहेको केन्द्रले जनाएको छ । स्थानीय स्रोतसाधनको उपयोग हुने भएकाले बेतबाँसबाट उत्पादित सामग्रीले आयआर्जनसँगै वातावरणीय लाभसमेत पुर्‍याउने केन्द्रको भनाइ छ । पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने परिवारका सदस्यले बाहिर गएर काम गर्ने अवसर गुमाउने अवस्था सामान्य छ । औषधोपचार, हेरचाह र दैनिक आवश्यकतामा हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पर्ने गर्छ । त्यसैले घरमै बसेर गर्न सकिने सीप तथा आयआर्जनका अवसरले अपाङ्गता भएका व्यक्ति र उनीहरूको हेरचाहमा रहेका परिवारका सदस्यलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने देखिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी