काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणका लागि अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भएको भेटवार्तामा अल्बानिजले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको बताएका छन् ।
उनले बाढीबाट प्रभावितप्रति अस्ट्रेलियाका तर्फबाट समवेदना व्यक्त गर्दै हालसम्म अस्ट्रेलियाले गरिरहेको सहायता प्रयासबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको उल्लेख गरेका छन् ।
बाढीमा केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको विषय उल्लेख गर्दै अल्बानिजले उनीहरूका परिवार र आफन्तजनप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।
अत्यावश्यक क्षेत्रमा सहयोग पुर्याउन अस्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग साइडलाइन भेटवार्ता गरिरहेका छन् ।


