काठमाडौँ — नेपालका धावक होमलाल श्रेष्ठ र सुनसरी रोकायाले शनिबार एसिया ट्रेल मास्टर (एटीएएम) च्याम्पियनसिपको उपाधि जितेका छन् ।
भियतनामको मु चाङ चाईमा भएको एटीएम मु चाङ चाई अल्ट्रा ट्रेलको पाँचौं प्रतियोगिता हो । दौडमा नेपालकै गोपाल तामाङ दोस्रो र फिलिपिन्सका की सुवेलो तेस्रो स्थानमा रहे ।
४२ वर्षीय होमलाल एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली हुन् । २४ वर्षीया सुनसरीलाई नेपालकै १९ वर्षीया धाविका कल्पना बुढाले कडा चुनौती दिएकी थिइन् । सुनसरीभन्दा केही सकेन्डमात्र पछाडि परेकी कल्पनाले दोस्रो स्थानमा चित्त बुझाइन् । हङकङकी सेलन लोउबिरे तेस्रो स्थानमा रहिन् ।
यस प्रतियोगितामा पुरुष र महिला दौडको शीर्ष १० मा नेपालका खेलाडीको बाहुल्यता थियो । धीरबहादुर बुढाले आठौं र विशाल राई दसौं स्थान ओगटे ।
करिब ३८०० मिटर उचाइसम्म दौडनुपर्ने एसिया ट्रायल मास्टर दौड जंगलको कठिन बाटो र पहाडका उकालीओरालो समावेश छन् ।
एटीएममा १८ देशका ३६ सय धावकधाविकाले भाग लिएका थिए । जसमा दुई सय अन्तर्राष्ट्रिय धावकधाविकाको सहभागिता थियो ।


