सुर्खेत — कर्णाली याक्सले आयोजना ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ। सुर्खेतमा भएको छनोटबाट रुकुमका भुवन भण्डारी, सुर्खेतका कैलाश खड्का र दैलेखका हिक्मत शाही छनोट भएका हुन्।
कर्णाली याक्सका कन्सल्टेन्ट कोच राजु बस्नेतका अनुसार छनोट भएका तीनै खेलाडीलाई अब बन्द प्रशिक्षणमा सहभागी गराइनेछ। बन्द प्रशिक्षणमा उनीहरूको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीलाई कर्णाली याक्सको टिममा समेटिनेछ। ‘ट्यालेन्ट हन्टको मुख्य उद्देश्य कर्णालीका प्रतिभावान् खेलाडी पहिचान गर्नु हो। तीन जना खेलाडी छनोट भएका छन्। अब बन्द प्रशिक्षणमा उनीहरूको क्षमता र प्रदर्शनलाई हेरेर उत्कृष्ट खेलाडीलाई टिममा अवसर दिनेछौं,’ बस्नेतले भने।
कर्णाली याक्सले हरेक सिजन कर्णाली प्रदेशका खेलाडीलाई प्राथमिकता दिँदै आएको छ। टिममा कर्णालीकै ५/६ जना खेलाडीलाई अवसर दिइँदै आएको र उनीहरूले प्रतियोगितामा राम्रो प्रदर्शनसमेत गरेको याक्सले जनाएको छ। आगामी दिनमा पनि कर्णालीका विभिन्न जिल्लाबाट प्रतिभा पहिचान गरी अवसर दिने योजना रहेको बस्नेतले बताए।
ekantipur.


