काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बसेर यो पर्व मनाइँदैछ । यससँगै नेपालीहरूको महान् चाड १५ दिन लामो बडादसैँ पर्व पनि आजैदेखि औपचारिक रूपमा समाप्त हुँदैछ । धार्मिक विश्वास अनुसार आजको रात जाग्राम बसेर माता महालक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुने जनविश्वास रहिआएको छ । कौमुदी पूर्णिमा समेत भनिने यस रातमा ‘को जाग्रति’ (को जागिरहेको छ?) भन्ने मान्यताका साथ जाग्राम बस्ने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैँको टीका र जमरा लगाउने क्रम आज पूर्णिमाको दिन अखिल बलिपूर्ति नभएसम्म शास्त्रसम्मत रूपमा जारी रहन्छ । परम्पराअनुसार आज बिहानै दसैँघरमा रहेका फूलप्रसाद र जमराका अवशेषहरू नजिकको नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गरिएको छ । भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान सुरुकोजाग्रत पूर्णिमाको समापनसँगै भोलिदेखि कात्तिक स्नान, आकाशदीप दान गर्ने तथा घरघरमा तुलसीको पूजा गर्ने परम्परा सुरु हुनेछ ।
शास्त्रीय मान्यता अनुसार कात्तिक स्नान गर्नेहरूले यस अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमासलगायतका अन्नहरू खान नहुने नियम छ । कोजाग्रत पूर्णिमाको दिनलाई बडादसैँको बिदाइसँगै नेपालीहरूको अर्को महान् चाड तिहार (दिवावली) को तयारीको संकेतका रूपमा पनि लिने गरिन्छ ।


