पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि गत बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका छन्। सुरक्षा अद्यावधिक र परीक्षणपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा आएको नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय र मालपोत कार्यालयलगायत अधिकांश सरकारी निकायका वेबसाइट सञ्चालनमा आएका छन्। अधिकांश वित्तीय संस्थाले पनि बन्द गरेका वेबसाइट पुनः खुलाएका छन्। तर, नेपाल राष्ट्र बैंकको वेबसाइट भने अझै सञ्चालनमा आएको छैन।
पीएचपीमा देखिएको सुरक्षा कमजोरीका कारण साइबर आक्रमणको जोखिम बढेपछि साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई तत्काल सुरक्षा अद्यावधिक लागु गर्न निर्देशन दिएका थिए। सुरक्षा अद्यावधिक लागु गर्न नसक्ने अवस्थामा वेबसाइट अस्थायी रूपमा बन्द राख्न आग्रह गरिएको थियो। सोही कारण सरकारी तथा वित्तीय संस्थाका वेबसाइट बन्द भएका थिए।सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच लागु गर्ने र त्यसको परीक्षण गर्ने काम सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा सामान्य अवस्थामा फर्किएका हुन्। सञ्चालनमा आउन बाँकी सेवाहरू पनि छिट्टै खुलाउने तयारी भइरहेको केन्द्रले जनाएको छ।वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरूले दसैँ बिदाको समयमा समेत निरन्तर काम गरेका थिए।


