भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् ।
भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी चितवन आएकी हुन् । सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन् । समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन् ।


