चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले जग्गा कित्ताकाटमा देखिएको अवरोध तत्काल हटाउँदै घरजग्गा कारोबारलाई सहज बनाउन सरकारसँग माग गरेका छन्। व्यवसायीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी भू–उपयोग नीतिमा देखिएको अन्योल हटाउन र जग्गा कारोबारसम्बन्धी नीतिगत समस्या समाधान गर्न आग्रह गरेका हुन्।
सौराहामा भएको भेटमा नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा पुगेको टोलीले जग्गा कित्ताकाटमा देखिएका अवरोधका कारण व्यवसायी मात्र नभई सर्वसाधारणसमेत प्रभावित भएको जानकारी गराएको थियो।भेटका क्रममा अध्यक्ष अधिकारीले घरजग्गा कारोबार सरकारको राजस्वको महत्वपूर्ण स्रोतसमेत भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन स्पष्ट तथा व्यावहारिक नीति आवश्यक रहेको बताए। उनले जग्गा कित्ताकाटमा देखिएको समस्या तत्काल सम्बोधन गर्न, भू–उपयोग नीति स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थालाई व्यवसायी तथा सेवाग्राहीमैत्री बनाउन आग्रह गरे।
उनले नीतिगत अन्योलका कारण जग्गा किनबेच, घर निर्माण तथा आवास विकासका गतिविधिमा समेत असर परेको बताए। जग्गा कारोबारलाई सहज र व्यवस्थित बनाउन सके यस क्षेत्रमा आर्थिक गतिविधि बढ्नुका साथै सरकारको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको भनाइ थियो।व्यवसायीले भू–उपयोग वर्गीकरण तथा कित्ताकाटसम्बन्धी प्रक्रियामा स्पष्टता नहुँदा सर्वसाधारणले आफ्नो जग्गा आवश्यकताअनुसार उपयोग तथा बिक्री गर्न कठिनाइ भोग्नुपरेको बताएका थिए। उनीहरूले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति र सरल कार्यविधि बनाउन पनि मन्त्री रावलको ध्यानाकर्षण गराए।
जवाफमा मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताइन्। उनले जग्गा कित्ताकाट खुलाउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउँदै छिट्टै सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन्।मन्त्रीसँगको भेटपछि जग्गा तथा आवास व्यवसायीले कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हट्ने र घरजग्गा कारोबारमा देखिएको समस्या क्रमशः समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत व्यवसायी सहभागी थिए।


