काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजालले थाइल्यान्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा कृत्रिम बौद्धिकतामा आधारित डिजिटल पशुधन बीमाबारे नेपालको अनुभव प्रस्तुत गरेकी छन्।
May be an image of textगत अक्टोबर १२ मा सम्पन्न ‘जेनेराली–संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) एसिया समावेशी बीमा नवप्रवर्तन मञ्च’ मा वक्ताका रूपमा सहभागी रिजालले पशुधन बीमामा प्रविधिको प्रयोग र त्यसबाट किसानले प्राप्त गर्न सक्ने लाभबारे धारणा राखेकी हुन्।
कार्यक्रममा रिजालले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको र लाखौँ नेपालीको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको उल्लेख गरिन्। पशुपालक किसानले सहज रूपमा बीमा सेवा प्राप्त गर्न तथा समयमै दाबी भुक्तानी पाउन अझै विभिन्न चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो।
May be an image of newsroom and textआफ्नो प्रस्तुतिमा उनले नेपालको प्रविधि साझेदार ‘प्लान्टस्याट’सँगको सहकार्यमा गाईभैँसीको थुतुनो पहिचान गर्ने कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगबाट पशुधन बीमामा ल्याउन सकिने परिवर्तनबारे जानकारी दिइन्।
उक्त प्रविधिले पशुको पहिचानलाई थप सहज र विश्वसनीय बनाउनुका साथै नक्कली दाबी न्यूनीकरण, पारदर्शिता अभिवृद्धि तथा दाबी भुक्तानी प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सहयोग पुर्याउने रिजालले बताइन्।
प्रविधिमा आधारित बीमा समाधानले ग्रामीण क्षेत्रका किसानको जीविकोपार्जनको सुरक्षा, वित्तीय सशक्तीकरण र बीमाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरिन्।
रिजालका अनुसार, उक्त मञ्चले एसियाभरिका बीमा क्षेत्रका नवीन अभ्यासबाट सिक्ने, विचार आदानप्रदान गर्ने तथा बीमा विज्ञ र विकास साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो।
उनले समावेशी तथा दिगो बीमा प्रणालीको विकासका लागि यस्तो मञ्च आयोजना गरेकोमा जेनेराली र यूएनडीपीलाई धन्यवाद दिँदै नेपालमा थप सुलभ, नवीन र दिगो बीमा सेवा विस्तारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।



