नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ ।केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा नागरिकमा भ्रम सिर्जना हुने र सङ्गठनको छविमा असर पर्ने जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न पनि प्रहरीले आग्रह गरेको छ । नागरिकको सत्य र तथ्यपरक सूचना प्राप्त गर्ने अधिकारको सम्मान गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न विज्ञप्तिमा जोड दिइएको छ ।
प्रहरीले सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । भ्रामक प्रचार वा अनावश्यक दबाबबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।त्यस्तै, प्रहरी सङ्गठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी सङ्गठनलाई कमजोर बनाउने प्रयास भएको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।प्रहरीले आम नागरिकलाई आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्नसमेत आग्रह गरेको छ ।




