काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा तथा बिक्री गर्ने प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अख्तियारले नेपालसहित पूर्वमन्त्री मिनेन्द्र रिजाल, पूर्वमन्त्री स्वर्गीय डम्बरबहादुर श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेलगायत ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
अख्तियारले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँभन्दा बढी बिगो असुल गर्न मागदाबी गरेको छ। इटहरीमा रहेको रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा अख्तियारले अनुसन्धान गरी भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो। मुद्दामा तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छबिराज पन्तसहितका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ।
तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरेको निधन भइसकेकाले उनको हकमा परिवारका सदस्यलाई विपक्षी बनाइएको विशेष अदालतले जनाएको छ। अख्तियारको अभियोगअनुसार सरकारी निर्णय र प्रक्रियाको दुरुपयोग गरी हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्री गर्ने कार्यमा संलग्नता रहेको आरोप प्रतिवादीहरूमाथि लगाइएको छ ।


