२२ वर्षपछि पृथ्वीमा खस्दै नासाको १.५ टनको टेलिस्कोप, भारतका यी सहर जोखिममा

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाको करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष टेलिस्कोप आज (नोभेम्बर ४) पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसको केही अवशेष पृथ्वीमा खस्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष वेधशाला सन् २००४ नोभेम्बर २० मा प्रक्षेपण गरिएको थियो । करिब २२ वर्ष अन्तरिक्षमा बिताएको यसको अधिकांश भाग वायुमण्डलमा प्रवेश गर्दा जलेर नष्ट हुने अनुमान छ ।

नासाका अनुसार यसको सम्भावित पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिणदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म फैलिएको छ । यस क्षेत्रमा भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर पनि पर्छन् । तर, ती सहरमै अवशेष खस्ने निश्चित भने छैन ।

वैज्ञानिकहरूका अनुसार यानका केही बलिया उपकरणका टुक्रा मात्र पृथ्वीको सतहसम्म आइपुग्न सक्छन् । पृथ्वीको करिब ७० प्रतिशत भाग महासागरले ढाकेकाले अवशेष समुद्रमा खस्ने सम्भावना बढी रहेको खगोलभौतिकशास्त्री ब्राड टकरले बताएका छन् ।

वैज्ञानिकहरूले यसबाट मानिसलाई चोटपटक लाग्ने वा भौतिक संरचनामा क्षति पुग्ने सम्भावना निकै कम रहेको बताएका छन् ।

सुरुमा दुई वर्षका लागि सञ्चालन गर्ने लक्ष्य राखिएको यस अन्तरिक्ष वेधशालाले आफ्नो कार्यकालमा २ हजारभन्दा बढी गामा–रे विस्फोट र १ हजार ४०० भन्दा बढी सुपरनोभाको अवलोकन गरेको नासाले जनाएको छ ।

यसले सन् २०२६ अक्टोबर २० मा अन्तिम वैज्ञानिक अवलोकन गरेको थियो । अहिले नासा र अमेरिकी स्पेस फोर्सले यसको पृथ्वीमा पुनः प्रवेशको निगरानी गरिरहेका छन्  ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई