काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन आग्रह गरेपछि नेपाल एलपी ग्यास उद्योग संघले पनि त्यसलाई निरन्तरता दिन उद्योगीहरूलाई आह्वान गरेको छ ।
संघले निगमको प्रस्तावअनुसार ग्यास उद्योगहरूबीच मर्जर प्रक्रियालाई प्रोत्साहन गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । संघका तर्फबाट नेपाल आयल निगमलाई पत्र पठाउदै आफुहरु मर्जरमा जान तयार भएको संघका अध्यक्ष दिवान चन्दले बताएका छन् ।
संघले निगमको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा उल्लेखित व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । उक्त बुँदामा एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ताको हित प्रवद्र्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीति लिइएको छ ।
संघले सोही नीतिअनुसार ग्यास उद्योगहरूले आवश्यक कार्ययोजना बनाएर मर्जर प्रक्रियालाई अघि बढाउनुपर्ने जनाएको छ । यसका लागि सबै एलपी ग्यास उद्योगलाई मर्जरमा जान संघले अनुरोध गरेको छ। त्यसैगरी, मर्जर प्रक्रियालाई सहज बनाउन करसम्बन्धी व्यवस्थामा पनि स्पष्टता आवश्यक रहेको संघको भनाइ छ। संघले आयकर ऐन, २०५८ को दफा ५७ र ९५ (क) आकर्षित नहुने व्यवस्था
निगममार्फत मर्जर प्रक्रिया अघि बढाउँदा लागू हुन सक्ने भन्दै यस विषयमा उद्योगीहरूलाई जानकारी गराएको छ । संघले निगमको नीतिलाई कार्यान्वयनमा लैजान उद्योगीहरूलाई आग्रह गर्दै ग्यास उद्योगको संख्या तथा सञ्चालन व्यवस्थापनलाई व्यवस्थित बनाउने दिशामा मर्जर प्रक्रिया महत्वपूर्ण हुने संकेत गरेको छ ।



