काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्याउन सुझाव दिएका छन् । बिहीबार रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
आफू प्रधानमन्त्री हुँदा पञ्चेश्वर परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको निकै नजिक पुगेको स्मरण गर्दै उनले वर्तमान सरकारले त्यसलाई टुङ्गोमा पुर्याउन सके नेपाल र भारत दुवै मुलुकका लागि ऐतिहासिक उपलब्धि हुने बताए । पञ्चेश्वरसँगै उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससँग सम्बन्धित सहमति तथा समझदारीहरूलाई पनि भारत भ्रमणको प्रमुख एजेन्डाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु,’ प्रचण्डले भने, ‘नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे–जति काम अगाडि बढाएको थिएँ, ती कामलाई उहाँले फत्ते गरिदिनुहोस् भन्ने चाहन्छु ।’
महाकाली सन्धिपछि अघि बढाइएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नेपाल र भारतबीचको प्रमुख जलस्रोत सहकार्यको आयोजना हो, जसबाट विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी नियन्त्रणमा समेत ठुलो लाभ लिन सकिने अपेक्षा गरिएको छ । तर, लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लाभ बाँडफाँटलगायतका प्राविधिक विषयमा सहमति जुट्न नसक्दा आयोजनाको कार्यान्वयन अघि बढ्न सकेको छैन । सोही अवसरमा प्रचण्डले प्रधानमन्त्री शाहले देश र जनताको हितमा राम्रो काम गरेमा आफू र आफ्नो पार्टीको सधैँ रचनात्मक सहयोग रहनेसमेत स्पष्ट पारे ।


